07/09/2025, 11:09:19

जडीबुटीबाटै कर्णालीलाई समृद्ध बनाउन सकिन्छ : वनमन्त्री शाही


काठमाडौँ, २५ असार : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जडीबुटीबाटै कर्णालीलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । कर्णाली डिस्कोर्स सोसाइटीमार्टिन चौतारीको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा उहाँले कर्णालीलाई जडीबुटीबाट आत्मनिर्भर बनाउने बारेमा सरकार गम्भीर रहेको बताउनुभयो ।

जडीबुटी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरिएको उहाँको भनाइ थियोे । कर्णालीमा उत्पादन हुने जडीबुटीलाई व्यवस्थापन गर्न आवश्यक देखिएको उल्लेख गर्दै मन्त्री शाहीले यार्सागुम्बा प्रमुख आयस्रोत भएकाले त्यसको सङ्कलनमा नीतिगत रूपमा व्यवस्था गरिएको बताउनुभयो ।

जडीबुटी लगायत जैविक विविधताको संरक्षणका लागि बाह्य मिचाहा प्रजाति नियन्त्रणसम्बन्धी मापदण्ड लागू गरिएको मन्त्री शाहीले जानकारी दिनुभयो । अव्यवस्थित चरिचरन र जथाभावी जडीबुटी कोर्ने प्रचलनले गर्दा जडीबुटी लोप हुनसक्ने चिन्ता बढेको बताउँदै उहाँले जलजङ्गल, जलस्रोत, जडीबुटीले भरिपूर्ण कर्णालीलाई आधारभूत आवश्यकता पुगिसकेको अवस्थामा दुर्गम गरिबी र पछाडि पारिएको भन्ने अब नसुहाउने तर्क गर्नुभयो ।

कार्यक्रममा विश्लेषक हरिहर न्यौपानेले विगतको तुलनामा अहिले वन मन्त्रालयले नीतिगत रूपमा सुधार गरी कामकाजमा सहज बनाएको बताउनुभयो । उहाँले वन मन्त्रालयले जडीबुटी क्षेत्रलाई प्राथमिकता राखेर यो पटक बजेट विनियोजन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

लेखक माधव चौलागाईले कर्णालीको खर्क क्षेत्रलाई व्यवस्थापन गरी जडीबुटी संरक्षणमा वन मन्त्रालयले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । वातावरण अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले कर्णालीमा उत्पादन हुने जडीबुटीको विवरणका साथै वार्षिक बिक्रीदर समस्या र चुनौतीको बारेमा जानकारी गराउनुभएको थियोे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ