बुधबार, पुष १०, २०८१

माओवादीको प्रदेशस्तरीय परामर्श समिति बैठक आज सकिने, केन्द्रीय समिति बैठक दसैँ लगत्तै बस्ने


६ असोज, काठमाडौँ । भदौको पहिलो हप्तादेखि सुरु भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समिति बैठक आइतबार सम्पन्न हुँदैछ । साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बस्नुअघि प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठक राख्ने निर्णय गरेको थियो । स्थायी समिति बैठकको निर्णयअनुसार भूगोलका सात प्रदेशका साथै गैरभूगोलतर्फ उपत्यका विशेष, प्रदेश समन्वय, प्रवासतर्फ एसिया, युरोप अमेरिका समिति केन्द्रीय निकाय, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समितिको बैठक सम्पन्न भइसकेको छ ।

अन्तिम दिन सार्क राष्ट्रमा कार्यरत केन्द्रीय सदस्यहरू र पदाधिकारीको संयुक्त बैठक रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठक सकिएपछि आवश्यकताअनुसार केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्ने उनले रातोपाटीलाई बताए । सापकोटाका अनुसार केन्द्रीय समिति बैठक दसैँ लगत्तै बस्नेछ । केन्द्रीय पदाधिकारी, स्थायी समिति र प्रदेशस्तरीय परामर्श समिति बैठकबाट आएका सुझावका आधारमा केन्द्रीय समितिले बृहत् योजना ल्याउने योजना रहेको उनले सुनाए । सापकोटाले अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै वामपन्थी दलहरू गोलबन्द भएर जानुपर्नेमा सुझाव आएको स्पष्ट पारे ।

‘समीक्षा राम्रो भइराखेको छ । विचारको बहस पनि भइराखेको छ । समाजवादी विचारधारा निर्माणको बहसतिर पनि लगिराखेको छ । सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको आधारमा प्रचण्डको नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडि बढ्नुपर्छ भन्ने साझा निष्कर्ष छ’, उनले भने, ‘सबै चुनौतीको सामना गर्न बृहत् वामपन्थी एकीकरण आवश्यक छ । त्यसको साथसाथै कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्छ भन्नेमा सबैको जोड छ । नयाँ चुनौतीको सामना गर्न नयाँ विचार संश्लेषण आवश्यकता रहेकोमा सबैको जोड रहेको छ ।’

स्थायी समिति बैठकमा पुष्पकमल दाहाल प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी दस्तावेज पेस गरेका थिए । पार्टी निर्माण र नेतृत्वको विकल्पको सम्बन्धमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठको छुट्टै दस्ताबेज पेस गरेका थिए । परामर्श समिति बैठकमा स्थायी समिति बैठकको निर्णय सहित शर्माको दस्तावेजमाथि पनि छलफल भएको थियो । सबै प्रदेशमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सबैको विचारलाई समेटेर केन्द्रीय समिति बैठकमा राजनीतिक दस्तावेज प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका थिए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading