07/06/2025, 23:29:18

सप्तकोशीको भगनी चौकमा नाली निर्माण सम्पन्न, अबैध संरचना हटाएर जनतामैत्री कार्य सम्पन्न


काठमाडौँ, २२ असार : सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित भगनी चौकमा नाली निर्माण कार्य सम्पन्न भएको छ। सडक बोर्ड बाट ९ लाख ५० हजार ४७६ रुपैया र नगरपालिकाबाट ४ लाख ७ हजार ३४६ रुपैयाँ साथै उपभोक्ता समितिको लागत सहभागिता ३ लाख २९ हजार १६९ रुपैया गरी कुल १६ लाख ८६ जजार ९९१ रुपैयाँको बजेटमा उपभोक्ता समितिमार्फत यो आयोजना सम्पन्न भएको हो।

यो आयोजनाको सफलताले विकासका कार्यमा नगर र वडास्तरको समन्वय कति प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। स्थानीय वडाध्यक्ष हरिलाल साहको पहल, उपभोक्ता समितिको सक्रियता र मेयर कृष्णप्रसाद ढकालको दृढ इच्छाशक्तिले गर्दा वर्षौंदेखि उपेक्षित रहेको सडक किनारको अव्यवस्थित ढल निकास अब व्यवस्थित भएको छ।

मेयर बालेन शैलीमा अवैध संरचनामाथि जेसिबी

यो आयोजना मात्र नभई, यसअघि सम्पन्न भएको एक ऐतिहासिक निर्णयले अझ बढी चर्चा पाएको छ। चौकको पश्चिमपट्टि सार्वजनिक सडक मिचेर बनाइएको अवैध संरचना हटाउन मेयर ढकाल र वडाध्यक्ष साहले कडा अडान लिएका थिए। तीन दशकदेखि अवैध रूपमा कब्जा गरिएको त्यो स्थान हटाउन कोही पनि सफल नभएको अवस्थामा, मेयर ढकालले काठमाडौंका मेयर बालेन शाहको शैलीमा जेसिबी चलाएर संरचना भत्काउने साहसिक कदम चालेका थिए।

जनतालाई वर्षौंदेखि पिरोलिरहेको सार्वजनिक क्षेत्र

अतिक्रमणको अन्त्य भएपछि स्थानियवासीहरु खुलेर मेयर र वडाध्यक्षको प्रसंशा गरिरहेका छन्। “हामीले यस्तो कार्य पहिलो पटक देख्यौं, जोसले कुरा मात्र होइन, काम गरेर देखाएका छन्,” एक स्थानीय बासिन्दाले प्रतिक्रिया दिए।

राजनीतिक मौनता र जनताको पक्षमा लिएको अडान

विगतमा स्थानीय नेताहरूले राजनीतिक स्वार्थका कारण यस्तो अतिक्रमणविरुद्ध कारबाही गर्न नसक्दा जनताको भरोसा गुम्दै गएको थियो। तर, मेयर ढकालको निर्णायक कदमले जनताको भरोसा पुनःस्थापित गरेको छ। दशकौंसम्म बोल्दै नबोलेका ‘सत्ता चलाउनेहरु’ अहिले मौन छन्, जबकि जनता खुलेर स्थानीय नेतृत्वको प्रशंसा गरिरहेका छन्।

उपसंहार

नगरपालिकाको योजनामा पारदर्शिता, कडाइ र सेवा प्रवाहमा देखिएको इमान्दारिता विकासका उदाहरणीय कार्यका संकेत हुन। अब यसैगरी अन्य वडाहरूमा पनि विकास योजनाहरूमा पारदर्शिता र दृढता देखिएमा सप्तकोशी नगरपालिका नमुना नगर बन्ने आशा गर्न सकिन्छ।

– कैलाश माझी


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ