07/06/2025, 15:49:52

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ


मान्म (कालीकोट), २२ असार : कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध हुन नदिने उद्देश्यले ठाउँठाउँ तयारीका साथ डोजरसहित आवश्यक सामग्री राखिएका छन् । राजमार्गको सुर्खेतबाट मुगुसम्मको खण्डमा वर्षातको समयमा बाढीपहिराका कारणले अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी महत्वपूर्ण उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको हो ।

राजमार्ग अवरुद्ध नहोस् र भइहाले तत्काल सञ्चालनमा ल्याउन सकियोस् भनेर अत्यावश्यक उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्गको सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु सडकका विभिन्न सात स्थानमा सडक डिभिजन कार्यालय सुर्खेत र जुम्ला डोजर राखेका हुन् ।

राजमार्गलाई लक्षित गरी सडक डिभिजन कार्यालय सुर्खेतले दैलेखको राकम र तल्लो डुङ्गेश्वरमामा डोजर राखेको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताउनुभयो । “यी डोजरले लेदो माटो वा पहिरो खसेर सडक अवरुद्ध गराए वा पहिरोले सडक अवरुद्ध गराएमा तत्काल सफा गरी सडक खुलाउने काम गर्ने छन्”, उहाँले भन्नुभयो, “वर्षायाम सुरु हुनासाथ कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राखी आवश्यक सामग्रीसहित डोजरहरू तयारी अवस्थामा राखेका हौँ ।

सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटबाट मुगुसम्मको सडकलाई लक्षित गरेर पाँच ठाउँमा डोजर तैनाथ गरेको छ । कालीकोटको गगनेखोला–दैखोलाबाट खुलालुसम्मका लागि खुलालुमा, खुलालुबाट मान्मसम्मका लागि हुल्ममा, मान्मबाट टाकुल्लासम्मका लागि पिलीमा, टाकुल्लाबाट नाग्मसम्मका लागि गाल्जेमा र कालीकोटको नाग्म–जुम्लाबाट मुगुसम्मका लागि बुलबुलेमा डोजर तैनाथ गरिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी एवं इञ्जिनियर प्रदीपनारायण चौधरीले जानकारी दिनुभयो ।

राजमार्गमा पहिरो जाने तथा अन्य समस्या भए तत्काल सञ्चालनमा ल्याउनका लागि डोजरसहितको जनशक्ति तैनाथ गरिएको छ”, उहाँले भन्नुभयो, “वर्षातको समयमा कर्णाली राजमार्गमा सानातिना पहिरो आउने क्रम रहने भएकाले पूर्वतयारी थालिएको हो ।

राजमार्ग अन्तर्गत दैलेख र कालीकोट खण्डमा पहिरो खसेर बढी सडक अवरुद्ध हुने जोखिम रहेको सूचना अधिकारी चौधरीले बताउनुभयो । उहाँका अनुसार उक्त राजमार्गको दैखोला, सुनारखोला, पाल्तडा, पाली, गगनेखोलालगायत ठाउँमा अत्यधिक पहिरो खस्ने गर्दछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ