काठमाडौँ, २१ असार : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकको परिचय अन्तरराष्ट्रिय क्षेत्रमा बढाउन खेलकुद क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल तेक्वान्दो सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले राष्ट्रको गौरव तथा प्रतिष्ठा वृद्धि गर्न खेलकुद क्षेत्र महत्त्वपूर्ण विधा भएको उल्लेख गर्नुभयो । विश्व परिवेशमा देशको प्रतिष्ठालाई स्थापित गर्ने सम्भावनायुक्त खेलकुद क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै मन्त्री चौधरीले यसबाट देशको बहुआयामिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
राम्रो खेलाडी उत्पादन गर्न गाउँपालिकादेखि नै बालबालिकालाई यस क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिँदै उहाँले उनीहरूलाई राम्रो अभ्यास गराउन सकेमा देशको नाम फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री चौधरीले मानिसको दैनिक जीवनमा स्वस्थता तथा स्वच्छता कायम गर्नका लागि खेलको महत्व रहेको विचार व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयमा न्यून बजेट रहेकाले राष्ट्रियस्तरको प्रतियोगिता गर्न तथा खेलकुदका पूर्वाधार विकास गर्न नसकिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
देशभरका करिब एक सय खेलाडीलाई तेक्वान्दो प्रशिक्षण दिइएको उक्त कार्यक्रममा मन्त्री चौधरीले प्रशिक्षक, स्वयंसेवक, अग्रज खेलाडीलाई सम्मान गर्नुभयो ।