काठमाडौँ, १६ असारः युवालाई सफल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता तथा नेतृत्व क्षमताको विकासमार्फत सबल र समृद्ध समाज निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा समाजका अगुवाहरूले उद्यमशीलता, रोजगारी र सीप विकासमा उदाहरणीय काम गरेर देखाउन समाजका युवालाई सुझाव दिएका छन् । समाजका अध्यक्ष शीतलप्रसाद महतोले युवा अदम्य शक्ति र साहसका पुञ्ज हुन्, ती समाजका आशा र भरोसा पनि हुन् भन्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्तिसमेत रहेका युवामा रहेको ज्ञान, सीप, दक्षता र अनुभव प्रयोग गरी समाजको अग्रगामी रुपान्तरणमा केन्द्रित हुन युवालाई आग्रह गर्नुभयो ।
“युवामा रहेको अपार ऊर्जा आत्मसात् गरी व्यवस्थापन र परिचालन गर्दा समाजको कायापलट हुन्छ”, उहाँले भन्न्ुभयो, “गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले तिनको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई समाजको विकासको मूलधारमा ल्याउने नीति तथा कार्यक्रम रहेको छ ।”
समाजका सचिव वीरेन्द्रकुमार साहले युवाका लागि गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमशीलता, युवाको स्वास्थ्य र सामाजिक सुरक्षालाई आधार मानेर युवाको समुचित व्यवस्थापन र परिचालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
समाजका कोषाध्यक्ष विनोद महासेठ, सहकोषाध्यक्ष अञ्जु चौधरी, सदस्य पम्मी साहलगायतले अग्रगामी सोच र लगनशीलता भएका समाजका युवामा नवप्रवर्तनकारी सोच, सीप र क्षमता रहेको उल्लेख गर्दै युवाको ती सीप र क्षमतालाई समाजको विकास र उन्नयनमा खर्चिन आग्रह गर्नुभयो ।
सो अवसरमा युवाको हकहितको संरक्षण, संवर्द्धन तथा सशक्तीकरणका माध्यमबाट समाजको अग्रगामी रुपान्तरणका लागि सुडी समाज काठमाडौँले सुजितकुमार महतोको संयोजकत्वमा युवा उपसमिति गठन गरेको छ । गठित उक्त उपसमितिका सदस्यहरूमा रविनकुमार महतो, उमेश कारक, सुनिलकुमार महतो, अरुणबाबु महतो, अल्काकुमारी महतो, प्रिङ्यका महतो र सुनिताकुमारी साह रहनुभएको छ ।