२ असोज, काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कारबाहीको सिफारिस क्लिन चिट हुन्छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका नेताहरूलाई प्रश्न गरेका छन्। छानबिन समितिका सभापति थापाले ऋषि धमलासँगको अन्तर्वार्तामा संसदको अंग बनिसकेको प्रतिवेदनको निष्कर्षलाई रास्वपाका नेताहरूले अपव्याख्या गरिरहेको बताउँदै कुन लाइन, कुन हरफमा क्लिन चिट लेखिएको छ भन्दै प्रश्न गरेका हुन्।
प्रतिवेदन संसदलाई बुझाएलगत्तै रास्वपाका सभापति लामिछानेसहित नेताहरूले सहकारीको बचत अपचलनमा आफ्नो भूमिका नदेखिएको भन्दै छानबिन समितिले क्लिन चिट दिएको बताएका थिए। छानबिन समितिकै सदस्य शिशिर खनाल, उपसभापति स्वर्णिम वाग्ले र सांसद सुमना श्रेष्ठले क्लिन चिट नै दिएको तर्क गरेपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौं हामीलाई छान्नुस् भन्ने मानिसले प्रतिवेदनमा लेखेको, चस्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने?’ उनले प्रश्न गर्दै भने, ‘क्लिन चिट कहाँ छ? कुन लाइन, कुन प्यारामा छ? कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ। सफाइ हुन्छ? कहाँ पढ्नुभएको हो, कुन स्कुलमा हो? कुन विश्वविद्यालयमा हो। म त यो भन्नु पर्यो नि त!’
उनले राज्यका तत् तत् निकायलाई अनुसन्धान, कारबाही गर्न सिफारिस गरिसकिएकाले समितिका सभापतिलाई प्रतिवेदनबारे थप जवाफ दिन बाध्य नपार्न पनि भनेका छन्। ‘यो बाध्य नपार्नुस् न। समितिले गरेको निर्णय मैले एक्लै गरेको निर्णय होइन। त्यो संसदको अंग हो,’ उनले भने। थापाले गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी फोर के टिभी लगायतका मिडिया सञ्चालन गर्न सबै सहकारीको पैसा खर्च गरेको बताएका छन्।
‘गोरखा मिडिया निटवर्कले खर्च गरेकोमध्ये ६५ करोडभन्दा बढी रकम सहकारीहरूबाट त्यहाँ प्रवाह भएको छ। सूर्यदर्शन, सुप्रिम, सहारा, सानोपाइला र स्वर्णलक्ष्मी गरी पाँच वटा सहकारीबाट पैसा प्रवाह भएको छ। त्यो ६५ करोडबाहेक गोरखा मिडिया नेटवर्कले एक वर्षमा कमाएको १० करोड गएको छ। अरू कहीँको फुटेको कौडी गएको छैन। सबै सहकारीको पैसा गएको छ,’ उनले भने।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















