१२ असार, जनकपुरधाम : मधेश प्रदेश सरकारको बजेटमाथिको छलफल स्थगित भएको छ । बिहीबार १ बजे प्रदेशसभाले बैठक आह्वान गरेको थियो । तर, दिउँसो १२ बजे प्रदेशसभाले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना जारी गरेको हो ।
हिजो (बुधवार) मात्रै बजेटमाथिको छलफल सुरु भएको थियो । प्रतिपक्षका सांसद रामआशिष यादव र सत्तापक्षीय रमिता प्रधानले मात्रै छलफलमा भाग लिएका थिए । अन्य सांसदले छलफलमा भाग नलिएपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका थिए । सभामुख मण्डलले सांसदहरुले रेडबुकको अध्ययन नगरेको हुनाले बिहीबार १ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए । पहिलो दिन २३ मिनेट २१ सेकेन्ड मात्रै सञ्चालन भएको थियो ।
पहिलो दिनको बैठक सुरु हुनुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर असार २२ गतेसम्मका लागि कार्यसूची तय भएको थियो । तर सभामुखले अचानक बैठक अनिश्चितकालका लागि स्थगित गरेर सरकारको कठपुतली बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रमुख सचेतक रामआशिष यादवले आरोप लगाए । उनले सरकार र सभामुखको कामप्रति आपति जनाउँदै अब हुने बजेटमाथिको छलफल बहिष्कार गर्ने बताएका छन् । बिचौलियालाई प्राथमिकता दिएर बजेट ल्याएको उनको गुनासो छ ।
नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतक कनिश पटेलले सभामुख र सरकारले रबैया अपनाएको भन्दै आपत्ति जनाए । सभामुख संसदीय अभ्यास विपरीत सदनलाई कसैको इसारामा बन्दी बनाएको उनले तर्क गरे । ‘नियमित सत्र सरकारले रोक्न पाउँदैन,’ उनले भने, ‘अधिवेशन सुरु र अन्त्य मात्रै सरकारले गर्न सक्छ ।‘
अब हुने बजेटमाथिको छलफलमा माओवादी, जसपा, एकीकृत समाजवादी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले बहिष्कार गर्ने तयारी गरेका छन् ।