06/23/2025, 00:02:29

‘बजेटमा अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगर्ने परम्पराको अन्त्य जरुरी’


काठमाडौँ, ८ असारः सांसदहरुले संसद्मा बजेटमाथि छलफल भएपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगर्ने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्नुहुँदै सांसद रामहरि खतिवडाले बजेटमा छलफल गरिसकेपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगरी पारित गर्न नहुने बताउनुभयो ।

छलफल भएपछि बजेटमा भएका त्रुटि सच्याउनुपर्ने उहाँको माग छ । ६८ वर्ष पुगेका ज्येष्ठ नागरिक भत्ता ७० वर्ष पु¥याउने विषयलाई अहिलेकै व्यवस्थाअनुसार ६८ वर्ष नै कायम गर्न सांसद खतिवडाले जोड दिनुभयो ।

सांसद रामकृष्ण यादवले हुलाकी राजमार्ग र यसअन्तर्गतका पुल अलपत्र बनेको बताउनुभयो । शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण विकास मन्त्रालय राख्न उहाँले माग गर्नुभयो ।

सांसद बिजुला रायमाझीले विकास निर्माणमा समानुपातिक सांसदलाई विभेद गरिएको बताउँदै यसमा धेरै महिला परेको सुनाउनुभयो । महिला, बालबालिकाका क्षेत्रमा बजेट वृद्धि गरिनुपर्ने उहाँको माग थियो ।

सांसदद्वय सूर्यप्रसाद ढकाल  र मुक्ताकुमारी यादवले बजेटमा भएका त्रुटि सच्याउनुपर्ने, राजनेताको सम्मान गरिनुपर्नेमा जोड दिनुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ