07/12/2025, 02:13:29

विनियोजन विधेयकको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफल जारी


काठमाडौँ, ६ असारः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद अमनलाल मोदीले बजेट विनियोजन असमान प्रणालीमा भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटले जनताको आवश्यकतालाई सम्बोधन गर्न नसकिने बताउनुभयो ।

हुलाकी राजमार्गअन्तर्गतको कटहरी क्षेत्रको काम सम्पन्न गर्न बजेट विनियोजन भएन । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने किसिमको पनि बजेट आएको छैन”, उहाँले भन्नुभयो, “विराटनगर अन्तरराष्ट्रिय विमानस्थलका विषयमा आवाज उठाइरहे पनि हालसम्म सुनुवाइ भएको छैन ।

सांसद प्रेम आलेले दैलेखमा अन्वेषण भएको पेट्रोलियम पदार्थको अध्ययन प्रतिवेदन आउनु सकारात्मक पक्ष रहेको बताउनुभयो । उहाँले विगतको भन्दा पूर्वाधार तथा विकासका क्षेत्रमा बजेट विनियोजन बढेको भन्दै धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजनाका लागि रु १५ करोड बजेट विनियोजन भएकामा असन्तुष्टि जनाउनुभयो ।

उक्त सडकखण्डको रु ५० करोड पुरानो दायित्व रहेकाले कसरी ठेक्का लगाउने? सेती लोकमार्गका लागि अहिले रु २५ करोडमात्र बजेट विनियोजन भएको छ । यो न्यून हो । यसरी डोटेली जनतालाई राज्यले किन उपेक्षा गरेको हो?”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले नीति तथा कार्यक्रमअनुसारको बजेट नआएको बताउनुभयो । “बजेट विनियोजनको अवस्था हेर्दा उत्साहित हुने अवस्थामा छैन । तर निराश भइहाल्ने अवस्थामा पनि छैन”, उहाँले भन्नुभयो ।

सांसद महेश बस्नेतले इलाममा लोपोन्मुख गुम्बाहरू भूकम्पपछि जीर्ण अवस्थामा रहेका भन्दै सुधारका लागि माग गरिए पनि बजेटले सम्बोधन गर्न नसकेको बताउनुभयो । “सीमा सुरक्षामा खटिनेहरूको सेवासुविधालाई पुनःविचार गरियोस् । महेन्द्रबेँसीको पुल २०७२ सालदेखि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भए पनि हालसम्म अन्योल छ, यसमा पनि पुनःविचार गरियोस्”, उहाँले भन्नुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले संसद्मा बजेटमाथि भएको छलफलमा दिइएको सुझाव कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । “बजेटपछि जनता उत्साहितभन्दा बढी निराशा देखिएका छन् । कालिकोट जिल्लालाई बजेटले उपेक्षा गरेको छ । आवश्यकताका आधारमा भन्दा पनि शक्ति केन्द्रित बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो ।

छलफलमा भाग लिँदै सांसद प्रकाश ज्वालाले सबै मन्त्रालयको बजेट असन्तुलित, पक्षपातपूर्ण र अन्यायपूर्ण रहेको धारणा राख्नुभयो । “कर्णाली प्रदेशलाई बजेटले उपेक्षा र वञ्चितीकरणमा पारेको छ । राप्ती राजमार्ग सडकखण्डमा सरकारको प्राथमिकतामा पर्न सकेन”, उहाँले भन्नुभयो, “मदन राजमार्गको सल्यानबाट सुर्खेतसम्मको खण्डलाई उपेक्षा गरिएको छ, यसमा सरकारको ध्यान जाओस् ।

सांसद रामहरि खतिवडाले पोखरा र भैरहवामा विमानस्थल निर्माण भए पनि सञ्चालनमा नआएको भन्दै यसको स्तरोन्नतिमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । “झापामा विकासका आयोजनाले प्राथमिकता पाउँदा ओखलढुङ्गा जिल्लाले प्रथामिकता पाउन सकेको छैन । आफ्नो निर्वाचन क्षेत्र केन्द्रित रहेरभन्दा पनि आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपथ्र्यो । त्यसो हुन सकेन”, उहाँले भन्नुभयो ।

सांसद दामोदर पौडेल बैरागी मुलुकलाई तीव्र आर्थिक वृद्धिमा लाने र जनतामा रहेको निराशा हटाउने लक्ष्य रहेकामा बजेट विनियोजनमार्फत पहल थालिएको बताउनुभयो । “हिजो थालिएको काम पूरा गर्ने लक्ष्य रहेको थियो । अधुरा आयोजना पूरा गर्नुपर्छ । दुब्लिगेट आयोजना खारेज गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “रणनीतिक सडकमा बजेट बढाउनुपर्छ ।