06/18/2025, 02:32:04

दलीय स्पर्धाको नाममा एकले अर्कोलाई सिध्याउने र ध्वंश गर्ने दिशातर्फ गइरहेको देख्नुभएकै छ : देव गुरुङ


काठमाडौँ, ३ असार : माओवादी महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा बेपत्ता पारिएका नागरिकको सार्वजनिकिकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले राज्यको नेतृत्वकर्ताहरू शान्ति र मेलमिलापको विरोधमा क्रियाशील रहेको उनको आरोप छ ।

महासचिव गुरुङले देशलाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर नेपाललाई सामरिक क्रिडास्थल बनाउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त समेत गरे । दलीय स्पर्धाको नाममा सत्तामा रहेका दलहरु एकअर्कालाई सिध्याउने र ध्वंस गर्ने मानसिकताले अघि बढिरहेको समेत आरोप लगाए ।

महासचिव गुरुङले सर्वसत्तावादी तथा एकाधिकारवादीले कतै पनि शान्ति स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने सोचका साथ अघि बढिरहेको टिप्पणी गर्दै सबै सचेत हुने बेला आएको समेत बताए ।

महासचिव गुरुङको भनाइ

मुलुकमा अहिलेको समस्या विकसित हुनुको कारण राज्यसत्ताको नेतृत्व गर्ने र राज्यसत्ताभित्रको कोर टिम सर्वसत्तावादमा फस्न पुगेको कारणले हो । त्यसकारण त्यो सर्वसत्तावादी तथा एकाधिकारवादीले कतै पनि शान्ति स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने, सहमति कायम गर्न नदिने तथा एकले अर्कोलाई विस्थापित गर्ने ढंगले अघि बढ्ने दिशातर्फ गइरहेको छ । र नेपाललाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर सामरिक दृष्टिकोणले नेपाललाई क्रिडास्थल बनाउन खोजिरहेको छ । यो चिन्तन प्रवृत्तिले समस्या पैदा भएको छ । यसविरुद्धमा नेताहरू लड्न सके कि सकेनन् समीक्षा गर्न जरुरी छ । सत्ता सञ्चालन नेताहरू सर्वसत्तावादी एकाधिकारको सोभबाट मुक्त हुन सक्नु भएन । त्यसले गर्दाखेरी दलीय स्पर्धाको नाममा एकले अर्कोलाई सिध्याउने र ध्वंश गर्ने दिशातर्फ गइरहेको देख्नुभएकै छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ