भोजपुर, ३ असारः मुन्दुम पदमार्गको प्रवद्र्धनका लागि भोजपुरमा सातौँ ‘मुन्दुम ट्रेल रेस’ आयोजना गरिने भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्याउने लक्ष्यसहित रेस आयोजना हुने भएको हो ।
पर्यटकीयस्थल चखेवा भञ्ज्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सिमाना तावाभञ्ज्याङ र पुनःतावाभञ्ज्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवासम्म प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
मुन्दुम ट्रेल रेस यही असार ७ गते २२ किलोमिटरमा सञ्चालन हुने आयोजक रिमाचुङ, एजुकेसन एण्ड स्पोर्टस् एकेडेमीका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो । प्रतियोगितामा नौ समूहको सहभागिता रहने आयोजकले जनाएको छ । एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जनाको सहभागिता रहनेछ । वर्षात्का समयमा पनि पदमार्ग भ्रमणका लागि कुनै पनि समस्या नहुने सन्देश दिन प्रतियोगिता सञ्चालन गरिएको उहाँको भनाइ छ ।
प्रतियोगितामा समूहतर्फ प्रथम हुनेले प्रमाणपत्रका साथमा रु ४० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुने रु २० हजार पाउनेछन् । एकल प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार पाउने आयोजकले जनाएको छ ।
पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।