06/16/2025, 15:34:26
काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता

युवालाई स्वस्थ बनाउन खेलसँग जोड्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ २ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले युवालाई स्वस्थ बनाउन खेलकुद क्षेत्रसँग जोड्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–२६ ले आजदेखि आयोजना गरेको ‘काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता’ को आज यहाँ उद्घाटन गर्दै मन्त्री पौडेलले सुखी बन्नका लागि नियमित खेलकुद र शारीरिक अभ्यास आवश्यक रहेको बताउनुभयो ।

शारीरिक व्यायम नियमित ग¥यो भने व्यक्ति सुखी र खुसी भएर बाँच्न सक्छ, खेलले व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउँछ”, मन्त्री पौडेलले भन्नुभयो । वडा, पालिका र देश÷देशबीचलाई खेलकुद क्षेत्रले जोडेको उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले सबै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्नसके नागरिकलाई स्वस्थ बनाउन सकिने उल्लेख गर्नुभयो । राष्ट्रिय पहिचानका लागि खेलकुद क्षेत्रमा लगानी आवश्यक रहेको उहाँको भनाइ थियो । कुनै पनि संस्थाले दिने सामाजिक उत्तरदायित्वको रकम खेलकुद क्षेत्रमा लगाउनुपर्ने उहाँले बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले खेलकुद क्षेत्रबाट प्रतिस्पर्धा मात्र नभएर आत्मियतासमेत बढ्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाले केन्द्रीकृत मात्र होइन विकेन्द्रीकरण गर्नुपर्छ भनेर वडा कार्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । वडालाई सक्षम बनाउने गरी महानगरपालिकाले नीति, बजेट र कार्यक्रम बनाउँदै आएको उहाँको भनाइ थियो । उपप्रमुख डङ्गोलले स्वस्थ, अनुशासित र टिमवर्कमा काम गर्न खेलकुद क्षेत्रले सिकाउने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनुभयो । वडाले खेल क्षेत्रको विकासका लागि चालू आवमा रु ३५ लाख रकम विनियोजन गरेको छ ।

काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगिता–२०८२ का संयोजक प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौँभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागीता रहेको बताउनुभयो । प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा स्पर्धा हुने छ ।

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार, उपविजेता टोलीलाई रु ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने छ ।

यसैगरी, तेक्वान्दोतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार तथा उत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ