06/16/2025, 02:49:00

प्रतिपक्षी र सरकारबीचको विवादले कर्णाली प्रदेशसभाको बैठक बस्न सकेन


कर्णाली, १ असारः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्ने दिन आज प्रदेशसभाको बैठक बस्न सकेको छैन । कर्णालीमा सरकार र प्रतिपक्षबीचको विवादले आज दिउँसो ३ः०० बजे बस्ने भनिएको प्रदेशसभाको बैठक बस्न नसकेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आयोजना बैङ्क नै सार्वजनिक नगरेर सरकारले बजेट ल्याएका कारण विवाद भएको र यसमा सहमति जुट्न नसकेपछि बैठक बस्न नसकेको बताउनुभयो । मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्य जिल्लाको योजनासमेत आफैँले पेस गरेको पाइएको उहाँको भनाइ छ ।

प्रमुख सचेतक जिसीले भन्नुभयो, “सरकारले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याएको छ । आयोजना बैङ्कका नाममा ल्याएको यो बजेट अपारदर्शी छैन, आयोजना बैङ्कमा के–कस्ता योजना छन् भन्नेबारे समेत थाहा छैन ।” प्रमुख प्रतिपक्षी दललाई थाहा नदिएर ल्याइएको बजेटले ‘अवैध र चोर बाटो’ अँगालेको मात्र नभई आग्रह–पूर्वाग्रहपूर्ण तरिकाले आफ्ना योजना मात्र समावेश गर्ने गरेको उहाँको आरोप छ ।

कर्णाली प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र खत्रीले विवाद सुल्झाउन कार्य व्यवस्था परामर्श समितिको बैठक बसे पनि प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अब प्रतिपक्षी दल र सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वबीचको छलफलबाट निकास निस्कने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ