06/15/2025, 18:54:10

चालु वर्षकै हाराहारी बजेट ल्याउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी


धनगढी, १ असार : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आइतबार ल्याउने भएको छ । असार १ गते अगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले भोलि प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

आज आइतबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले आइतबार साँझ ५ बजे बस्ने बैठकमा आर्थिक मामिला मन्त्री थापाले अगामी वर्ष २०८२/८३ को बजेट ल्याउने कार्यसूची रहेको जानकारी दिए ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ कै आसपासमा हुनेगरि अगामी वर्षको बजेट ल्याउने तयारी गरेको छ । सरकारले यो वर्ष ३१ अर्ब ६२ करोड बराबरको बजेट ल्याएको थियो । आर्थिक मामिलामन्त्री थापाले शुक्रबार प्रदेश सभामा पेस गरेको आर्थिक सर्वेक्षणअनुसार हालसम्म आठ अर्ब ७९ करोड ५१ लाख बजेट मात्र खर्च भएको छ । चैत मसान्तसम्म १० अर्ब ९८ करोड ९ लाख बचत रहेको छ भने तीन अर्ब ८५ लाख ६६ हजार घाटा राजश्व रहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

सांसदलाई छुट्टै योजना र बजेट

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाका सदस्यहरुलाई भने छुट्टै बजेटको व्यवस्था गर्र्दै सोहीअनुसारका योजना बजेटमा समावेश गरेको छ । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुलाई पाँच करोड र समानुपातिक प्रदेश सभा सदस्यलाई तीन करोडसम्मका योजना वितरण गर्ने सहमति गरेको थियो ।

सोही सहमतिका आधारमा प्रदेश सरकारले प्रदेश सभा सदस्यहरुलाई अगामी वर्षको बजेटमा उक्त रकम बराबरका योजना पारिदिने भएको छ । प्रदेश सभा सदस्यहरुले समेत विषयगत मन्त्रालयलाई तोकिएको बजेट अनुसारका योजना बुझाइसकेका छन् ।

अदालतले नै खारेज गरिसकेको सांसदको सिफारिसमा कार्यान्वयन गरिने पूर्वाधार विकास कार्यक्रमकै शैलीमा सुदूरपश्चिममा प्रदेश सभा सदस्यहरुलाई योजना बाँड्ने काम भएको छ । यो हिसाबले हेर्दा प्रदेश सरकारले ५२ जना (एक निलम्बित बाहेक) प्रदेश सभा सदस्यलाई दुई अर्ब १८ करोड बराबरका योजना वितरण गर्ने ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ