२७ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा दस प्रतिशत इथानोल मिसाउने भएको छ। ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली–२०८१’ मार्फत पेट्रोलमा इथानोल मिसाउने प्रक्रिया अघि बढाएको हो। अहिले निगमले मस्यौदा तयार गरी सरोकारवालासँग छलफल गरिरहेको छ।
पेट्रोलियम पदार्थको प्रयोगबाट वातावरणमा पर्न गएको असर न्यूनीकरण गर्न तथा वैदेशिक मुद्रा सञ्चितिमा सहयोग पुर्याउने उद्देश्यले पेट्रोलमा इथानोल मिश्रण प्रक्रिया अघि बढाएको निगमका कार्यकारी निर्देशक चण्डी प्रसाद भट्टले जानकारी दिए।
‘यो अहिलेको आवश्यकता हो। अन्तर्राष्ट्रिय अभ्यास अनुसार हामी पनि अघि बढेका हौं,’ उनले भने। उनका अनुसार आफै तेल उत्पादन गर्ने देशले पनि पेट्रोलमा इथानोल मिसाइरहेका छन्। भारत, ब्राजिल लगायतका देशले पेट्रोलमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिसाइरहेका छन्।
इथानोल भनेको अन्न वा वनस्पतीलाई ‘फर्मेन्सन’ गरेर बनाइने एक प्रकारको तरल पदार्थ हो। हाल यहाँ चिनी उद्योगीहरूले इथानोल उत्पादन गरिरहेका छन्। उनीहरूले मोलासिस (खुदो) लाई प्रशोधन गरेर इथानोल बनाउँछन्। उक्त इथानोल बंगलादेश निर्यात हुन्छ। निगमले नै इथानोल किन्ने भएपछि बाहिर निर्यात नगर्ने उद्योगीहरूले प्रतिबद्धता व्यक्त गरेको भट्टले जानकारी दिए।
‘हामीले भर्खरै चिनी उद्योगीसँग छलफल गरेका थियौं,’ उनले भने, ‘उनीहरूले दैनिक ५० हजार लिटर इथानोल दिने बताएका छन्।’
चिनी उद्योगीले निगमलाई इथानोल बिक्री गर्न भने थप प्रशोधन गर्नुपर्ने हुन्छ। उद्योगीले अहिले ९६ प्रतिशत शुद्धता भएको इथानोल उत्पादन गर्दै आएका छन्। निगमलाई भने ९९.५ प्रतिशत शुद्धता भएको इथानोल चाहिन्छ।
‘पेट्रोलमा पानी मिसाउन हुँदैन। त्यसैले ०.५ प्रतिशत मात्रै पानी भएको इथानोल माग गरेका छौं,’ उनले भने, ‘उनीहरूले हाम्रो माग बमोजिम उत्पादन गर्ने बताएका छन्।’ उद्योगीबाट लिएको इथानोललाई पनि निगमले थप प्रशोधन गरेर पेट्रोलमा मिसाउने छ। त्यसपछि इथानोल मिसाएको पेट्रोल निर्धक्क भएर उपभोक्ताले प्रयोग गर्न सक्ने उनले बताएका छन्।
‘अहिले धेरैको इञ्जिनमा समस्या हुन्छ कि भन्ने चासो छ,’ उनले भने, ‘कुनै समस्या पार्दैन।’ उद्योगीबाट लिएको इथानोल सिधै पेट्रोलमा नमिसाइने हुनाले इथानोल मिश्रित पेट्रोलले सवारी साधनको इञ्जिनमा कुनै असर नगर्ने उनको भनाइ छ। इथानोललाई थप गुणस्तरीय बनाउन निगम आफैले प्रशोधन गर्नेछ।
‘अमलेखगञ्ज डिपोमै प्रशोधन हुन्छ। इथानोलमा सिलिका जेल राखेपछि पानी छुट्टिन्छ,’ उनले भने, ‘प्रशोधन गरिएको इथानोल पेट्रोलमा मिश्रण गरेर ट्यांकीमा लोड गर्छौं।’ पेट्रोलमा कति प्रतिशत इथानोल मिसाइएको छ, त्योबारे उपभोक्तालाई पनि जानकारी दिइने उनको भनाइ छ। ‘एक प्रतिशत मिसाएको छ भने इ–१, दुई प्रतिशत मिसाइएको छ भने इ–२ लेखेर पेट्रोलमा पम्पमा सूचना टाँसेका हुन्छौं,’ उनले भने।
स्वदेशी स्तरमा उत्पादित इथानोल प्रयोग गर्ने नियमावलीमा उल्लेख छ। सोही अुनसार निगमले अन्नबाट भन्दा पनि खेर जाने वनस्पतीबाट इथानोल उत्पादन गर्नेबारे कम्पनीसँग छलफल गरिरहेको छ। ‘चामल, मकै, गहुँबाट पनि इथानोल बनाउन सकिन्छ,’ उनले भने, ‘तर त्यसले खाद्य सुरक्षाको प्रश्न उठाउने भएकाले मोलासिस र कसावा (सिमल तरूल) बाट इथानोल उत्पादन गर्न छलफल गरिरहेका छौं।’ उनका अनुसार हाल दैनिक २० लाख लिटर पेट्रोल खपत भइरहेको छ। त्यसमा दस प्रतिशत इथानोल मिसाउँदा दुई लाख लिटर पेट्रोलको परिमाण घट्ने छ।
सुरूआती चरणमा निगमले इथानोलको पर्याप्तताको आधारमा मिसाउने योजना बनाएको छ। अहिले चिनी उद्योगीबाट निगमलाई ५० हजार लिटर मात्रै इथानोलको सुनिश्चितता भएको छ। दस प्रतितशत मिसाउन डेढ लाख लिटर इथानोलले पुग्दैन। ‘अहिले हामीसँग इथानोलको परिमाण थोरै छ। सुरूआतमा एक/दुई प्रतिशत मिसाउँछौं,’ उनले भने, ‘पछि इथानोलको मात्रा बढेसँगै प्रतिशत बढाउँछौं।’ इथानोल प्रयोग गर्दा उपभोक्तालाई कुनै पनि आर्थिक भार नपर्ने उनको दाबी छ।
अहिले निगमले अन्तर्राष्ट्रिय मूल्यका आधारमा इण्डियन आयल कर्पोरेसनसँग तेल किनिरहेको छ। इथानोलको मूल्य भने सरकारले निश्चित अवधिका लागि स्थिर गरिदिनु पर्ने उनको भनाइ छ।