काठमाडौँ, २८ जेठः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले राससद्वारा प्रदर्शनीमा राखिएका तस्बिरले नेपालको पहिचान झल्किएको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि सिइओ जोशीले यहाँ राखिएका तस्बिरले मुलुकको पर्वतीय पर्यटन प्रवर्द्धनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तस्बिर प्रदर्शनीलाई धेरै नागरिक तथा सरोकार भएका निकायसम्म पुर्याउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
सिइओ जोशीले भन्नुभयो, “तस्बिर प्रदर्शनीमा राखिएका फोटोहरू जानकारीमूलक, रोचक र रमणीय छन् । यसले ‘देश कस्तो छ’ भनेर ज्ञान दिएको छ । सँगसँगै हामीलाई घुम्नलाई प्रेरिणत पनि गरिरहेको छ । तस्बिर प्रदर्शनीलाई अझ बढीभन्दा बढी मानिसलाई कसरी देखाउन सकिन्छ, यसका लागि बोर्ड सहकार्य गर्न प्रतिबद्ध छ ।”
जोशीले पर्यटनमार्फत देशको अनुपम सुन्दरतालाई पस्किएर आर्थिक आयआर्जन गर्न सकिने धारणा राख्नुभयो । “पर्यटनमार्फत विदेशी पर्यटकसामु पस्किन सक्ने हामीसँग धेरै सम्पदाहरू छन्”, उहाँले भन्नुभयो, “यी तस्बिरहरूले देशको प्राकृतिक सम्पदा, संस्कृति र सभ्यतालाई उजागर गर्न मद्दत पगरेको छ । युवापुस्तामा देशमै केही गर्न सकिन्छ भनेर झकझकाउँछ । पर्यटन प्रवर्द्धनमार्फत रोजगारी सृजना हुनुका साथै आयआर्जन पनि हुन्छ र देशको सुन्दरतालाई पनि चिनाउन सकिन्छ ।”
सिइओ जोशीले प्रदर्शित तस्बिरलाई पुस्तकका रूपमा प्रकाशन गरेर विभिन्न मञ्चमा प्रस्तुत गर्नसके नेपाललाई पर्वतीय पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिर प्रदर्शनीबारे जानकारी गराउँदै प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।