06/06/2025, 22:41:55

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ : सञ्चारमन्त्री गुरुङ


भक्तपुर, २२ जेठः सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालको सबै घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा लागिरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उहाँले सरकारले एक वर्षभित्र सबै क्षेत्रमा देशभरी फोरजी सेवा पु¥याउने बताउनुभएको हो । उहाँले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई पूर्ण रुपमा सञ्चालनमा ल्याएर हुलाक टिकट, लेबल–स्टिकर, लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्रलगायत महत्वपूर्ण कागजपत्र यही छपाई गर्नेगरी तयारी गरेको बताउनुभयो ।

विसं २०८४ मा हुने निर्वाचनको एक वर्ष अगाडि नै एमालेले पार्टीको महाधिवेशन गर्ने पार्टीले तयारी गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, “निर्वाचन भएको करिब तीन वर्ष भयो, चुनावपछिको ६० प्रतिशत कार्यकाल सकियो । अब २०८४ सालमा हुने निर्वाचनको एक वर्ष अगाडि नै महाधिवेशन गरेर पार्टीलाई अझै बलियो बनाएर निर्वाचनमा जाने तयारीमा जुटेका छौँ ।

पार्टीलाई सुधार र संशोधन गरेर लैजानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टीमा हावी हुँदै गएको व्यक्तिवादी स्वार्थ र दक्षिणपन्थी अवसरवादलाई निमिट्यान्न पार्नु आजको टड्कारो आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमालेको नीति, सिद्धान्त र एजेण्डा राम्रो छ, तर आन्तरिक जीवन जसरी चलिरहेको छ त्यसलाई सुधारेर अगाडि बढ्नु जरुरी छ, पार्टीभित्र हावी हँुदै गएको व्यक्तिवादी स्वार्थ, अराजकता र दक्षिणपन्थी अवसरवादको अन्त्य हुनु जरुरी छ ।

निर्वाचनमा अन्तरघात गर्नेहरुलाई छुट नदिइ कारबाही गरेर जानुपर्नेमा त्यसो गर्न नसकिएको उहाँको भनाइ थियो । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुटले पार्टीभित्र रहेका कमजोरीलाई प्रष्ट देखाएको जिकिर गर्दै मन्त्री गुरुङले त्यसलाई सुधारेर जानुपर्ने बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ