काभ्रेपलाञ्चोक, २२ जेठ ः बाढीपहिरो पीडितलाई आठ महिनापछि अस्थायी आबास निर्माणका लागि यहाँको १२ स्थानीय तहमा अनुदान पठाइएको छ । गत असोज दोस्रोसाताको अबिरल बर्षापछिको आएको बाढीपहिरो पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमार्फत सरकारले पहिलो किस्ता बापत रु २५ हजारका दरले राहत रकम उपलब्ध गराएपछि जिल्लाको १२ तहका करिब तीन हजार घरपरिवारका स्थानीय तहमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रभावित स्थानीय तहद्वारा माग भएपछि गत वैशाखमा प्राधिकरणमार्फत राहत रकम निकासा भएको थियो । उल्लेखित प्रभावित परिवारका लागि उपलब्ध गराइने रु ५० हजार राहत रकममध्ये पहिलो किस्तास्वरुप रु २५ हजार उपलब्ध गराइएको कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारबाट कार्यालयमा प्राप्त रु ७ करोड २३ लाख ७५ हजार राहत रकम स्थानीय तह (स्थानीय विपद् ब्यवस्थापन समितिको खातामा)लाई परिवारको सङ्ख्याका आधारमा यही जेठ १५ गतेसम्ममा पठाइसकिएको हो ।
एक स्थानीय तहका विपद ब्यवस्थापन समितिले प्रक्रिया पूरा नगर्दा तेमाल गाउँपालिकाले अस्थायी आवासका लागि पहिलो किस्ताबापतको रकम निकासा माग गर्न ढिलाई भएको श्रेष्ठले बताउनुभयो । घटनाको करिब सात महिनापछि प्राधिकरणमार्फत प्रभावितलाई उपलब्ध गराउन उक्त रकम जिल्लामा आइपुगेको हो ।
प्राधिकरणले निजी आवास पूर्णरुपमा क्षति भएको, आंशिक क्षति भएतापनि बसोबास गर्न योग्य नरहेका घर परिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने निर्णय अनुसार चरणबद्ध रुपमा राहत रकम निकासा गरिएको जनाएको छ । “माग भएअनुसार जिल्ला प्रशासन कार्यालयमा आएको उक्त रकम प्रभावित परिवार सङ्ख्याको आधारमा स्थानीय तहलाई पठाईसकेका छौँ, रकम प्राप्त भएका तहले प्रभावित परिवारलाई प्रदान गर्नुहुनेछ” जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भन्नुभयो । प्राधिकरणले दोस्रो किस्ताबापत रु २५ हजार उपलब्ध हुने जनाएको छ । असोजको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाए । छ जना अझै वेपत्तामा सूचीकृत छन् भने एक सयको हाराहारिमा घाइते भएका थिए ।
गत चैत अन्तिमसाता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आँकलन शुरु गरिएको छ । गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका वडा नम्बर–२ नारायणटारबाट यसको शुरुवात गर्नुभएको हो । स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमश अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आँकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । निजी आवासको विस्तृत क्षति आँकलनको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेषरुपमा ध्यानाकर्षण गराइएको छ ।