२० भदौ, काठमाडौं । हिंसात्मक दृश्यको प्रशस्त प्रयोगपछि केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको छ । बोर्ड सदस्य ऋषिराज आचार्यले १६ वर्ष मुनिका दर्शकले हेर्न अनुपयुक्त हिंसात्मक दृश्य र संवादको कारण फिल्मलाई वयस्क प्रमाणपत्र दिइएको बताए । बोर्डले फिल्मको रनटाइम १८४ मिनेटमा समेत सीमित गरिदिएको छ ।
एडल्ट सर्टिफिकेट पाउनुको अर्थ १६ वर्षमुनिका दर्शकलाई फिल्म हेर्न प्रतिबन्ध लगाइएको भन्ने हो । अब प्रश्न उठ्छ- सीमित उमेर समूह र प्राप्त शोजको चुनौतिको बाबजुद ‘रावायण’ले शुक्रबार कस्तो ओपनिङ गर्ला ? प्रमुख मल्टिप्लेक्सले फिल्मको एड्भान्स टिकट बिक्री थालेका छन् । फिल्मको एड्भान्स टिकट विक्री कस्तो छ भन्ने कुरा सम्बन्धित हल र केही डिजिटल वालेटमा देख्न सकिन्छ ।
फिल्मको ट्रेलर हेर्दा पनि यसमा प्रशस्तै काटमार, लडाइ र रगतका दृश्य छ । सन् २०१२ मा रिलिज भएको ‘धन्दा’पछि सुदर्शन थापाको यो अर्को एडल्ट फिल्म हो । ‘धन्दा’मा पनि सिरियल किलरको कथावस्तु समेटिएको थियो । शुक्रबार ‘रावायण’सहित अर्को नेपाली फिल्म ‘देवी’ र गतसाता भेनिस फिल्म फेस्टिभलको ओपनिङ फिल्मको रुपमा रहेको ‘बिटलजुस बिटलजुस’ छ ।