१९ भदौ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दुईदलीय व्यवस्थामा लैजाने खोजिएको बताउँदै त्यसलाई रोक्नुपर्ने बताएका छन्। वुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेस एमालेले देशलाई दुई दलीय व्यवस्था हुँदै अधिनायकवादतर्फ लैजान खोजिएको बताएका हुन्।
‘पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ। प्रशिक्षित गर्नुपर्छ । पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ,’ उनले भने। अध्यक्ष प्रचण्डले भूराजनीतिक स्थितिका कारण राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको र राष्ट्रियता, जनजिविकाका सवालहरु दिन प्रतिदिन पेचिलो बन्दै गएको बताए।
‘यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्नपर्छ,’ उनले भने। त्यस्तै जनताका समस्याहरुको तथ्यांक संकलन गर्ने, सदनलाई प्रभावकारी बनाउने, अन्तरक्रिया छलफल गर्नुपर्ने प्रचण्डले बताए।
‘पहिलेका सरकारले गरेका सुशासन, समृद्धिका कुराहरुलाई उल्ट्याउने खालको स्थिति बनाइरहेको छ । अब जनताको हक अधिकार खोसिने आशंका भएको छ । जनतामा आक्रोश पनि बढिरहेको छ,’ उनले भने। जनता सरकारका क्रियाकलाप, रवैयाप्रति असन्तुष्ट हुँदै गएको पनि उनले बताए।
‘प्रतिपक्षलाई समाहित गर्दै संसदमा भएको हाम्रो शक्तिलाई पनि प्रभावकारी बनाउने । त्यसको साथसाथै अन्य फोरमहरुमा पनि सरकारको जनविरोधी क्रियाकलापहरु, भ्रष्टाचार विरोधी अभियान रोकिएको छ, छोपछाप पार्न लागिरहेको छ,’ उनले भने।