05/24/2025, 20:08:37

पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना


म्याग्दी, १० जेठः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ ।

स्वाँत गाउँको नजिकै रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मनमोहक छहरे झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग र यसको आकर्षणका विषयमा प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्वाँतका बासिन्दा मनबहादुर पुनले बताउनुुभयो ।

अन्नपूर्ण चक्रीय र खोपारा पदमार्गमा समेटिएको स्वाँत गाउँमा पर्यटकको बसाई लम्बाउन छहरे झरनालाई नयाँ गन्तब्य बनाउनुपर्ने होटल ब्यवसायीसमेत रहेका पुनले बताउनुभयो । झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग छैन् । भिराखो पाखोको भिरालो पैदलमार्गमा हिड्दा चिप्लने खतरा छ । छहरे झरनाको सुन्तरता स्वाँत गाउँमै सीमित छ । रमणीय झरना सुनसान छ ।

करिब २०० मिटर अग्लो झरना मनमोहक छ । झरनाको फेदीमा निलो आकारको तलाउ छ । वरपर घना जङ्गल छ । चराको चिरबिर चिरबिर आवाज सुन्न सकिन्छ । पहाडको फेदीमा रहेको झरना नजिकै भिरमौरीको घार (बासस्थान) छ । जहाँ हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता स्वाँतका बासिन्दाले महशिकार गर्छन् ।

छङछङ गर्दै झर्ने झरनाको आवाजले मन्त्रमुुग्ध बनाउने स्थानीय बलबहादुर तिलिजा पुनले बताउनुभयो । छहरे झरना अवलोकन गर्दै तनाव भुुुलाउन र थकान मेटाउन सकिने उहाँले बताउनुभयो । शान्त र एकान्त वातावरणमा रमाउन पाउनुुपनि छहरे झरनाको विशेषता हो ।

झरनामा घाम पर्दा इन्द्रेणी देखिन्छ । नजिक नजिक दुई वटा झरना रहेका छन् । ठूलो छहरे झरनाभन्दा करिब २०० मिटर तल रहेको अर्को झरनालाई सानो छहरेका नामले चिनिन्छ । स्वाँत गाउँदेखि करिब २० मिनेट पैदलयात्रा गरेपछि छहरे झरनामा पुुगिन्छ ।

झरनाको माथिल्लो भागसम्म कच्चि सडक पनि छ । स्वाँत गाउँमा होटल र होमस्टे (घरबास)को सुविधा छ । अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले छहरे झरनाको संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटकीय गन्तब्य बनाउन पहल गरेको बताउनुभयो ।

सडक पुुगेको ठाउँदेखि झरनाको फेदीसम्म ढुङ्गाको सिढी चिनेर पदमार्ग, दृष्य अवलोकनस्थल र बिश्रामस्थल बनाउन अध्ययन गरिएको वडा अध्यक्ष तिलिजाले बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ