12/14/2025, 00:53:07
शनिबार, मङि्सर २७, २०८२

‘बुढीगण्डकी आयोजनामा सहयोग गर्न प्रदेश सरकार तयार छ’


सुलीकोट, मङ्सिर २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी आयोजना निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । शुक्रबार गोरखाको भीमसेन थापा गाउँपालिका–७ स्थित जागेश्वर माविको स्वर्ण महोत्सवमा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।

विगत लामो समयदेखि अलपत्र परेको बुढीगण्डकी आयोजना अघि नबढ्दा प्रदेश तथा स्थानीयस्तरमा विकासको गति रोकिएको भन्दै उहाँले अब कुनै पनि हालतमा परियोजना निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । बुढीगण्डकी आयोजना केवल ऊर्जा उत्पादनका लागि मात्र नभई देशको आर्थिक समृद्धि, रोजगार सिर्जना तथा भौतिक पूर्वाधार विकासका लागि आधारस्तम्भ बन्न सक्ने परियोजना भएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले सङ्घ, प्रदेश र स्थानीय सरकारबिच स्पष्ट समन्वय गरी आयोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक सहयोगका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले परियोजना निर्माणको क्रममा प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकको पुनर्वास, क्षतिपूर्ति तथा पुनर्जीवीकरणलाई प्राथमिकता साथ सम्बोधन गर्न सङ्घीय सरकारलाई आग्रहसमेत गर्नुभयो ।

परियोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय बासिन्दाको जीवनस्तर उकास्न विशेष सामाजिक तथा विकास कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले बुढीगण्डकी आयोजना बेलैमा सुरु नहुँदा प्रभावित क्षेत्रमा न विकास न त आयोजना बनेकाले स्थानीयको समस्या सम्बोधन गर्न पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका विकास योजना, ऊर्जा सुरक्षाका लक्ष्य र गण्डकी प्रदेशलाई आर्थिक केन्द्र बनाउने रणनीतिसँग बुढीगण्डकी परियोजना प्रत्यक्ष रूपमा जोडिएको भन्दै सबै पक्षबाट सहयोगको अपिल गर्दै सुदृढ राजनीतिक इच्छाशक्ति, वित्तीय व्यवस्था र जनताको सहभागितासँगै बुढीगण्डकी आयोजना सफल हुने बताउनुभयो ।