काठमाडौं, मंसिर २७ : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावको वातावरण बनाउन नलागेको भन्दै प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताएका छन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा मन्तव्य राख्दै ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताएका हुन् ।
‘संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्छ । संसद्मार्फत संविधान संशोधन हुनुपर्छ ।संसद् विघटन हुनुहुँदैन भनेर काम चलाउ प्रधानमन्त्रीको नाताले संवैधानिक बाटो देखाएको थिएँ । तर, देशलाई उल्टो दिशामा लगियो । बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरियो । असंवैधानिक सिफारिसबाट विघटन भयो,’ ओलीले भने, ‘यो असंवैधानिक छ । गलत छ । जनताले चुनेका प्रतिनिधिहरूलाई घर फर्काउनु भनेको लोकतन्त्र कमजोर बनाउनु हो । प्रतिनिधिसभा विघटन मान्य छैन । असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुन:स्थापना तुरुन्त हुनुपर्छ भन्ने हाम्रो अडान हो ।’

ओलीले फागुन २१ को चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश पाएको सरकारले चुनावी वातावरण बनाउने भन्दा बिथोल्ने दिशामा काम गरिरहेको बताए । ‘के अहिले चुनावको तयारी भइरहेको छ ? देखिँदैन । चुनाव चाहने सरकार थियो भने सबै दलको विश्वास जित्दथो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सुरक्षित वातावरण बनाउँथ्यो । दललाई चुनावमा सहभागी गराउन वातावरण बनाउँथ्यो । निर्भयको वातावरण बनाउँथ्यो । लुटिएका प्रहरीका हतियार फिर्ता ल्याउँथ्यो । भागेका कैदबन्दीहरु फर्काउँथ्यो ।’

ओलीले थपे, ‘तर, सरकारले मिडिया ट्रायल र राजनीतिक दलहरूकाविरुद्ध धम्की, नेताहरूको राहदानी रद्द र स्थान हद, निषेधाज्ञा गर्ने काम गरिरहेको छ । यसले दबाब र आतंक बढ्छ कि मतदानको सुरक्षा हुन्छ ? लोकतान्त्रिक प्रणाली र विधिद्वारा शान्तिपूर्ण वातावरणबाट चुनाव होस् भन्ने भनाइ हो । डर, दबाब र प्रतिशोधको छायाबाट चुनाव हुन्छ भन्ने एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ । तर, अहिले चुनाव हुँदै छ र ? होइन, चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै हुँदैछ । देशलाई अलमलाउनका लागि । त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छ ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










