गौशाला (महोत्तरी), मङ्सिर २७ : महोत्तरीको बर्दिवासमा एक नाबालिकामाथि भएको बलात्कारको घटना एक सातापछि खुलेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार बर्दिवास नगरपालिका–१२ मा नाबालिकामाथि भएको बलात्कारको घटना एक सातासम्म लुकाइएपछि मात्र सार्वजनिक भएको हो । गाउँमै मिलाउने नाममा पीडित परिवारलाई धम्की र आर्थिक प्रलोभन दिँदै आएका मुख्य आरोपीलाई प्रहरीले छलफल चलिरहेकै अवस्थामा पक्राउ गरेपछि घटना बाहिर आएको हो ।
पीडित बालिकाका अनुसार गत शुक्रबार विद्यालयबाट घर फर्किएपछि किताब राखेर खेतमा काम गर्न जाँदा छिमेकी राजेन्द्र महतोले ‘माया गर्छु, पैसा पनि दिन्छु’ भन्दै बलात्कार गरेका थिए । घटनाका बेला खेतमा मल लिएर पुगेकी आमाले छोरीले रोइकराई रहेको सुनेर हेर्दा आरोपी भागेका थिए र आफूले छोरीलाई सम्हाल्दै घर ल्याइएको पीडितकी आमाले बताउनुभयो ।
घटना कसैलाई बताएमा बदनाम हुने र ज्यान मार्ने धम्की दिँदै चुप लाग्न दबाब दिइएको पीडित पक्षको भनाइ छ । घटनाकै राति आरोपी पक्षका मानिसहरू घरमै आएर डर धाक धम्की दिएर प्रहरीमा उजुरी दिन खोज्दा ज्यानले मार्ने भन्दै धम्क्याइएको आमाले जानकारी दिनुभयो ।
धम्कीका साथै ६ लाख रुपियाँसम्मको प्रलोभन देखाएर घटना मिलाउन दबाब दिइएको र बाटो छेकेरै छलफलमा बस्न बाध्य पारिएको पीडित परिवारको आरोप छ । बिहीबार दिउँसो करिब २ बजे २०–२५ जनाले घेराबन्दी गरी सहमति गर्न दबाब दिइरहेका बेला इलाका प्रहरी कार्यालय बर्दिवासले आरोपित बर्दिवास–१२ बस्ने राजेन्द्र महतोलाई पक्राउ गरेको हो ।
बिहीबार नै पीडितले दिएको जाहेरी अनुसार महतोलाई शुक्रबार ३ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडितले दिएको जाहेरीका आधारमा महतोलाई तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टले पटक–पटक छलफलका नाममा पीडितमाथि दबाब दिएको सूचना पाएपछि पक्राउ गरिएको बताउनुभयो । पक्राउपछि आरोपीको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट प्राप्त भएपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
पीडित पक्षले बर्दिवास–१३ का वडाध्यक्ष लक्ष्मण सिंह सहित केही स्थानीय भद्रभलाखमीले समेत गाउँमै घटना मिलाउन दबाब दिएको आरोप लगाएका छन् । तर वडाध्यक्ष सिंहले आफू घटनामा संलग्न नरहेको र यसबारे कुनै जानकारी नभएको दाबी गर्नुभयो । महतो पक्राउ परेको दिन आफू अन्य कामका लागि प्रहरी कार्यालय पुगेको उहाँको भनाइ छ ।
पीडितका अनुसार जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुराका व्यवस्थापन समितिका पूर्वअध्यक्ष रमेश महतो सहित केही गाउँलेहरूले पनि पटक–पटक घर घेरेर दबाब दिँदै आएका थिए ।
– अजय शाह
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













