12/14/2025, 00:53:09
शनिबार, मङि्सर २७, २०८२

सुशासन र परिवर्तनका लागि राष्ट्रिय परिवर्तन पार्टी जन्मियो : अध्यक्ष पोर्तेल


दमक, मङ्सिर २७ : राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवा मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

शनिबार दमकको आदिवासी रङ्गशालामा राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले देशमा भ्रष्टलाई कारवाही नभएकै कारण आज देश विकाराल अवस्थामा पुगेको र जेन-जीहरुको उदय भएको बताउनुभयो। जेन-जी आन्दोलनका क्रममा दाहिने खुट्टा गुमाउनुभएका पोर्तेलले असली जेन-जीहरु ओझेलमा परेको र नक्कली जेन-जीहरु हावी भएको आरोप लगाउनुभयो । आफू सक्कली घाइते तथा जेन-जी नै भएको बताउँदै अध्यक्ष पोर्तेलले जेन-जी आन्दोलनलाई दमन गर्नेहरुलाई कानुनी दायरामा ल्याउन वर्तमान सरकारलाई अनुरोध गर्नुभयो ।

सो अवसरमा जेन-जी शहीद श्रेयम चौलागाईका बुबा गणेशप्रसाद चौलागाईले वर्तमान सरकार जेन-जीको भावना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो। जेन-जी युवा अजयले जेन-जीलाई कमजोर नठान्न चेतावनी दिनुभयो।

जेन-जी आन्दोलनका घाइते, सहिद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण सभामा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो । जेन-जी युनाइटेड समूहका जेन-जीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा गर्न सभा गरिएको हो ।