05/24/2025, 19:01:18

पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण


सोलुखुम्बु, १० जेठ : सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गर्नुभएका उहाँ हाल ६१ वर्षको हुनुभयो । पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसक्नु भएका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ ।

भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका उहाँलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।

पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उहाँसँग छ । उहाँ सम्झँदै भन्नुहुन्छ, “जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्रायः शेर्पा समुदायका युवाहरू देखिन्थे । तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन् ।

पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण महासङ्घको भनाइ छ । छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा नदेखिएको पर्वतारोहण पेसामा आबद्धहरू बताउँछन् ।

नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता देखिन्छ । उहाँ भन्नुहुन्छ, “हाल सोलुखुम्बुपछि सङ्खुवासभा जिल्लाबाट धेरै पर्वतारोहण पथप्रदर्शकको रूपमा सहभागी भएको देखिन्छ । त्यसपछि खोटाङ, ओखलढुङ्गालगायत जिल्लाबाट पनि सहभागिता छ ।

 

सङ्घका अनुसार नेपालमा ४६१ हिमाल आरोहणका लागि खुला गरिएको छ । करिब १५० बढी हिमाल आरोहण हुनै बाँकी छ । कतिपय हिमालहरू अझै अध्ययनको क्रममा छन् । सञ्चार अधिकृत गुरूङ भन्नुहुन्छ, “पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको आकर्षण घट्दै गए पनि अन्य समुदायका युवाहरूको आकर्षण बढ्दो छ । भविष्यमा पर्यटकहरूको सङ्ख्या बढ्यो भने पर्वतारोहण पथप्रदर्शक जनशक्ति कम हुन सक्छ । हालसम्म चिन्ता छैन । तर, हिमाल चढ्नु जटिल पेसा भएकाले यस पेसाप्रति आकर्षण घट्छ कि भन्ने चिन्ता हो ।

शेर्पा संस्कृति र शेर्पा समुदायको हिमालसँग जोडिएको सम्बन्ध केन्द्रित अध्ययन अनुसन्धान गर्दै आउनुभएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पा पहिलेको तुलनामा पछिल्लो समय हिमाल आरोहण पेसामा शेर्पा युवाहरूको आकर्षण घट्दो क्रममा रहेको स्वीकार गर्नुहुन्छ । हालसम्म शेर्पाहरू हिमाल आरोहण पेसामा सक्रिय रहेका र आउने पुस्ता यस पेसामा रहन्छन् वा रहँदैनन् भन्ने टुङ्गो नरहेको हिमालयन उद्धार सङ्घका कार्यकारी प्रमुख गोविन्द बस्यालले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हालसम्म हिमाल आरोहण पेसामा शेर्पा समुदायको बाहुल्यता छ । यस पेसामा आबद्ध शेर्पाका छोराछोरी कोही काठमाडौँमा आएर पढ्ने र कोही विदेशमा अध्ययन गर्ने भएकाले बाबुबाजेको पेसामा उनीहरू फर्कन्छन् भन्ने निश्चित छैन ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारमा शेर्पा सङ्ग्रहालय सञ्चालन गर्नुभएका लाक्पा सोनामका अनुसार शेर्पाहरूले यो पेसा छोड्दैमा भविष्यमा समस्या नहुन सक्छ । शेर्पा युवाहरूले हिमाल चढ्न छाडे अन्य समुदायका युवाहरूले चढ्ने उहाँको अनुमान छ । बरू जलवायु परिवर्तनको कारण सगरमाथा रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता रहेको उहाँ बताउनुहुन्छ । “बर्सेनि सगरमाथामा हिउँ कम हुँदै गएको छ । सगरमाथा पत्थरमा परिणत भयो भने सगरमाथा को चढ्छ ?”, उहाँ प्रश्न गर्नुहुन्छ ।

हालसम्म आठ पटक सगरमाथा आरोहण गर्नुभएका ५१ वर्षीय निमा शेर्पा पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको कमी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो पुस्ताका शेर्पाहरूले हाल गाइडको काम धानिरहेका छाँै । हिमाल चढ्ने पेसा जोखिमयुक्त भएको कारण पछि आउने पढेलेखेका पुस्ताले यस पेसालाई अँगाल्दैनन् कि भन्ने चिन्ता छ । हाल पर्वतारोहणमा अनुभवी र उमेरले परिपक्व शेर्पाहरू धेरै भेटिन्छन्, पछिल्लो पुस्ताका शेर्पाहरू कम भेटिन्छन् ।

सोलुखुम्बुको दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा उमेरले ५८ वर्ष पुग्नुभयो । कलिलो उमेरदेखिनै भारी बोकेर सगरमाथा क्षेत्रमा ओहोरदोहोर गरिरहनुभएका उहाँको पनि सगरमाथा क्षेत्रसँगको गहिरो सम्बन्ध छ । आठ पटक सगरमाथा आरोहण गरिसक्नुभएका तार्केले सगरमाथा आरोहण गर्न छाड्नुभएको तीन वर्ष बितिसक्यो । आठ हजार मिटरमुनिका हिमालमा अझै उहाँ आरोहण दलको नेतृत्व गरिरहनुभएको छ । हिमाल आरोहणमा शेर्पा युवाहरूको कमी हुँदै आएको उहाँको स्वीकारोक्ति छ ।

पढेलेखेका केही युवाहरू व्यवसायमा लागेका छन् भने, केही युवाहरू अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि पुगेका छन्”, उहाँले भन्नुभयो, “पछिल्ला पुस्ताका शेर्पा युवाहरू पेसामा सक्रिय देखिँदैन । निरन्तर आम्दानीको स्रोत नभएको र हिमाल चढ्नेहरूका लागि सरकारबाट सेवा सुविधा नभएका कारण पनि यो पेसाबाट शेर्पाहरू विस्थापित भएको हुनुपर्छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ओङछु शेर्पाका अनुसार पहिले प्रत्येक परिवारको कान्छो छोराबाहेक अरू छोराहरूले सगरमाथा आरोहण गर्नुपथ्र्यो । ओङछु शेर्पा आफू परिवारको एक्लो छोरा भएको कारण ट्रेकिङ गाइडको काम सम्म गरेको तर हिमाल आरोहण नगरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाल गाउँमा युवाहरू त्यति भेटिँदैनन् । सबै विदेशिएका छन् । खुम्बु क्षेत्रका पाङबोचे, थामे, खुम्बुलगायतका गाउँका केही शेर्पा युवाहरू हिमाल चढ्ने पेसा अँगाले पनि नाम्चे बजारका युवाहरू खासै छैनन् ।

तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि सगरमाथा आरोहणको बाटो खुलेको हो । विश्वभरबाट पर्यटकहरू सगरमाथा आरोहण तथा त्यस क्षेत्रको अवलोकनका लागि आउन थालेपछि खुम्बु क्षेत्रका स्थानीयले भारी बोकेर आर्थिक आयआर्जन गर्ने अवसर पाएका थिए ।

सगरमाथा आधार शिविर पुग्नका लागि काठमाडौँबाट खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केसम्म यातायात सुविधा छ भने, काठमाडौँ र रामेछापबाट लुक्लासम्म हवाई सुविधा छ । लुक्लादेखि सगरमाथा आधार शिविरतर्फ पैदलयात्रामार्फत पुग्न सकिन्छ । बाटोमा सुविधा सम्पन्न होटलहरू छन् । हाल लुक्ला र सुर्केबाट खच्चड र मान्छेमार्फत सामान ढुवानी गरिन्छ ।

नेपालमा हिमाल चढ्ने समुदायको रूपमा शेर्पा समुदायलाई चिनिन्छ । कुनै समय सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हरेक युवाहरू सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे । हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो देखिएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ