09/08/2025, 15:05:35
सोमबार, भदौ २३, २०८२

बर्खामा पनि मनाङ भित्रिने पर्यटकको सङ्ख्या बढ्दै


मनाङ, भदौ २३ : बर्खा लागेपछि नेपालमा घुम्न आउने पर्यटकको सङ्ख्या घट्दै जाने गर्छ । यही असार १ गतेबाट घट्दै गएको मनाङ भित्रिने पर्यटकको सङ्ख्या भदौ सकिनै लाग्दा बढ्दै गएको छ । आर्थिक वर्ष सुरु भएसँगै साउन १ देखि भदौ २० सम्म ५६ देशका ४८४ पर्यटकले मनाङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत धारापानीस्थित पर्यटक चेकपोस्टका कार्यालय प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो ।

उहाँले यो समयमा पनि दैनिक दर्जनको हाराहारीमा विदेशी पर्यटकको आगमन भइरहेको बताउनुभयो । उहाँका अनुसार सार्क मुलुकबाट ३७ महिला तथा २८९ पुरुष र सार्कबाहेकका मुलुकबाट १५८ पुरुषले मनाङ भ्रमण गरेका छन् । उहाँले भन्नुभयो, “यस अवधिमा मनाङ भ्रमण गर्ने पर्यटकमा सबैभन्दा धेरै ४४ जना चिनियाँ, ४० जना बेलायती, ३७ जना अमेरिकी, ३७ जना  भारतीय र ३३ जना जर्मन रहेका छन् ।

त्यसै गरी अस्ट्रेलियन २९, इजरायली २८, फ्रान्सेली २७, इटालियन २१ तथा पोल्यान्डका २० पर्यटकले बेमौसममा पनि मनाङ भ्रमण गरेका छन् । यही अवधिमा ६६ जनाले अनलाइन अनुमति लिएको गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँबाट छ, पोखराबाट २७, लमजुङको सिम्पानी खुदीबाट दुई र मुस्ताङ घासाबाट १७ जनाले अनलाइन अनुमति लिएका छन् ।”  सामान्यतया पर्यटकको औसत बसाइ १५ देखि २० दिनसम्म हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “वर्षायाम भएर पनि पर्यटक अलि बढ्न नसकेको हो कि भन्ने छ । बाढीपहिरो डर हुँदा पर्यटक कमै आउँछन् ।

मनाङको हिमाली भौगोलिक स्वरूप, अन्नपूर्ण पदयात्रा मार्ग, धार्मिक तथा सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यका कारण बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । मौसम अनुकूल हुँदा यो क्षेत्र विदेशी पर्यटकको मुख्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।

एक्यापका अनुसार पर्यटक आगमनको प्रमुख मौसम असोजदेखि मङ्सिर र फागुनदेखि वैशाख महिनासम्म रहन्छ । पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न स्थानीय व्यवसायीले पनि यो वृद्धिलाई सकारात्मक सङ्केतका रूपमा लिएका छन् । स्थानीय पर्यटन व्यवसायीका अनुसार सरकारले पूर्वाधार, सुरक्षा र सहजीकरणमा अझ ध्यान पु¥याए अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिने प्रशस्त सम्भावना छ ।