09/15/2025, 17:53:30
सोमबार, भदौ ३०, २०८२

क्षतिग्रस्त तारकेश्वर नगरपालिकाका कामकाज नियमित सञ्चालनमा


काठमाडौँ, भदौ ३० : जेन जेड युवाहरूको प्रदर्शनी र आगजनीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको कामकाज नियमित रूपमा सञ्चालनमा आएको छ ।

आन्दोलन र आगजानीका कारण तोडफोड भएको भौतिक संरचनालाई स्थानीयवासी र जनप्रतिनिधिले सफा गरेर आजदेखि कामकाज नियमित रूपमा सञ्चालन गरिएको नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गीले जानकारी दिए ।

“गत भदौ २३ गतेको ‘जेन जेड’ युवाको प्रदर्शनका कारण २९ सम्म नगरपालिका र मातहतका वडाको काम स्थगित भएको थियो, परिस्थिति सामान्य बनेपछि आजदेखि नियमित रूपमा सरसफाइ गरेर काम सञ्चालनमा आएको हो,” उनले भने ।

आन्दोलनका क्रममा तारकेश्वर नगरपालिकाका पाँच वटा गाडी, एक डोजर र १२ मोटरसाइकलमा आगजनी भएको प्रवक्ता खड्गीले बताए । यसबाहेक राजस्व शाखा, कानुन शाखा र इन्जिनियरिङ शाखामा समेत क्षति पुगेको छ ।

जेन जेड आन्दोलनका कारण तारकेश्वरका चार वटा वडा पूर्ण रूपमा ध्वस्त भएका छन् ।  नगरपालिकाका–१, ४, १० र ११ मा क्षति पुगेको छ । क्षतिग्रस्त वडामा पनि आजदेखि टेबुल र कुर्सी राखेर सेवा सञ्चालन गरिएको प्रवक्ता खड्गीले बताए।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..