05/23/2025, 16:42:28

पोखरामा ‘प्रधानमन्त्री कप’ महिला तथा पुरूष भलिबल लिग सुरू


कास्की, ९ जेठ : देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरूष भलिबल क्लब लिग’ सुरू भएको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर पोखरा रङ्गशालाको बहुउद्देशीय कभर्ड हलमा खेल सञ्चालन भएको हो । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक समारोहबीच उद्घाटन गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत आजका खेलमा पुरूषतर्फ नेपाल पुलिस क्लब, टिपटप हेल्प नेपाल, गण्डकी प्रदेश र नेपाल एपिएफ क्लब विजयी भए । महिलातर्फ भने एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरूआत गरे ।

पुरूषतर्फ मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले सोझो सेटमा हराउँदै विजयी सुरूआत गरेको छ । पुलिसले २९–२७, २५–२० र २६–२४ ले जित दर्ता गर्न सफल भयो ।

हेल्प नेपालले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्न सफल भयो । हेल्प नेपालले ३०–२८, २५–२१ र २५–२० ले खेल जित्यो । घरेलु टोली गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३–१ ले हरायो । गण्डकीले २५–१५, २५–२१, २५–२२ र २५–२० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । यसैगरी एपिएफले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको हो । एपिएफ २५–१९,२५–१६,२५–१६ ले विजयी भएको थियो ।

महिलातर्फको खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई २२–२५, २५–१९, २५–१७ र २५–१३ ले हरायो । यसैगरी एपिएफ क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले २५–१०,२५–१०, २५–१५ को सहज जित निकालेको हो ।

प्रतियोगितामा पुरूषतर्फ आठ र महिलातर्फ छ टोलीले सहभागिता रहेको छ । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदुरपश्चिम प्रदेश र मणिमुकुकन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फका उपाधि विजेताले नगद रू आठ लाखका दरले पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले समान रु चार/चार लाख तथा तृतीय हुने टोलीले समान रु दुई लाखका दरले पुरस्कार पाउने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

यही जेठ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५०/५० हजार र विद्यागत उत्कृष्ट खेलाडीहरूले जनही नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ