05/18/2025, 23:19:56

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल


लमजुङ, ४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–कांग्रेसको समीकरण आगामी २०८४ को निर्वाचनसम्मै कायम रहने बताउनुभएको छ ।

आज लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित एमाले लमजुङको ९औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “देश र जनताको हितका लागि दुई पार्टीको गठबन्धन सरकार बनेको हो । कांग्रेस वा एमालेबाट बेइमान भएमा मात्रै गठबन्धन टुट्ने हो नत्र पूरा अवधिसम्म दुई पार्टीको समीकरण रहन्छ ।

उहाँले सरकार ढल्छ, टिक्दैन भनेर हल्ला फैलाउने गरिएको भन्दै यस्तो कुनै समस्या नरहेको बताउनुभयो । “यसअघि पनि पटक÷पटक विभिन्न कालखण्डमा कांग्रेस—एमाले मिलेर अघि बढ्दै देशलाई सङ्कटबाट जोगाउने काम गरेका छौँ । यसपटक पनि स्थिर सरकार र विकासको चाहना पूरा गर्न दुई पार्टी एकठाउँमा आएका हौँ, सोहीअनुसार काम गर्नुपर्छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

एमाले पार्टीमा निरन्तर क्रियाशील हुने र धर्य गर्न सक्ने क्षमता भएका व्यक्ति मात्रै टिक्ने भन्दै उहाँले अवसरवादी व्यक्तिहरू अवसरको खोजीमा सबैतिर चाहार्दै हिँड्ने धारणा राख्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने र त्यसमा पार्टी नेता, कार्यकर्ताको योगदान जरूरी रहेको बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमाल, प्रदेश कमिटी सचिव धनञ्जय दवाडीलगायतले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ