१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिस्टम र विधि बनाएर उत्तराधिकारी नेता बनाइने बताएका छन्। आइतबार प्रेस सेन्टर बाँकेले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूलाई नेतृत्वमै बसिरहनुपर्छ भन्ने नभएको तर त्यत्तिकै हस्तान्तरण गर्ने कुरा पनि नभएको बताएका हुन्।
‘पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु,’ उनले भने। अध्यक्ष प्रचण्डले आफूले नेतृत्व हस्तान्तरण गर्नेबित्तिकै पुस्तान्तरण नहुने पनि बताए। कार्यकर्ताहरूले पनि नेतृत्वबाट तत्काल यताउता गर्न पाउनुहुन्न भन्ने प्रेसर दिएको उनले बताए।
‘अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ”, उनले भने, ‘तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ।’
उनले पार्टीलाई सुदृढ बनाउने देशव्यापी अभियान सञ्चालन गरिएको पनि बताउँदै फुट्छ भन्ने कुरा निराधार रहेको बताए। त्यस्तै समाजवादी मोर्चालाई पनि व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताए। सरकारमा आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप प्रचण्डको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















