पाटन (ललितपुर), ४ जेठः रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट अग्रज पत्रकार भारदत्त कोइराला पुरस्कृत हुनुभएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल-भूटानद्वारा आज ललितपुरमा आयोजित रोटरी जर्नो अवार्ड २०२४-२०२५ मा अग्रज पत्रकार कोइरालालाई रु एक लाख एक हजार राशिको रोटरी लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत गरिएको हो ।
नेपालमा लामो समयसम्म पत्रकारिता तथा सञ्चारको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कार अघिल्लो वर्ष स्व भैरव रिसाललाई प्रदान गरिएको थियोे । नेपालको पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने अग्रज पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने उद्देश्यले सुरेश आचार्य र प्रभात योञ्जनले पुरस्कारका लागि योगदान गर्नुभएको थियो ।
रु ५१ हजार राशिको जर्नो अवार्ड २०२४-२५ बाट खोजी पत्रकारिताका क्षेत्रमा क्रियाशील पत्रकार अनिता भेटवाल, स्वास्थ्य क्षेत्रमा पत्रकारिता गर्नुभएकी कल्पना आचार्य, सरसफाइ तथा खानेपानीको क्षेत्रमा काम गर्नुभएका सागर परियार, मानसिक तथा बाल स्वास्थ्यका क्षेत्रमा काम गर्नुभएकी उन्नति चौधरी, आधारभूत शिक्षा तथा साक्षरताका क्षेत्रमा क्रियाशील तीन दशकदेखि पत्रकारितामा सक्रिय कान्तिपुर दैनिकका पत्रकार नारायण किलम्बु, २०६० सालदेखि सुदूरपश्चिमबाट पत्रकारितामा क्रियाशील कारोबार दैनिकका समाचारदाता पवन वर्षा शाह र स्वतन्त्र फोटो पत्रकार विकास रौनियारलाई पुरस्कृत गरिएको छ ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल-भूटानका डिस्ट्रिक गभर्नर राजेन्द्रमान श्रेष्ठले रोटरीका बारेमा सर्वसाधारणमा सकारात्मक प्रभाव विकास होस् भन्ने अभिप्रायले पुरस्कारको सुरुआत गरिएको बताउनुभयो । उहाँले फेब्रुअरीमा हुने डिस्ट्रिक सम्मेलनमा खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्ने उत्कृष्ट पत्रकारलाई रु २० लाखको पत्रकारिता पुरस्कार प्रदान गरिने जानकारी गराउनुभयो ।

सम्मानित व्यक्तित्व अग्रज पत्रकार भारदत्त कोइरालाले पत्रकारिता क्षेत्रमा आफूले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले नेपाली पत्रकारिताले समाजको रुपान्तरणमा गरेको योगदानलाई सम्मान गर्न गरिएको यो कदम महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपाली पत्रकारिता विश्वमै गर्व गर्न लायक बनाउन प्रयास गर्ने क्रियाशील पत्रकारहरूलाई पुरस्कृत र सम्पन्न गर्नु महत्त्वपूर्ण कदम भएको धारणा राख्नुभयो ।
रोटरी जर्नो अवार्ड कार्यक्रमका अध्यक्ष नम्रता शर्माले पुरस्कारका लागि ५० वटाभन्दा बढी आवेदन परेका उल्लेख गर्दै ती आवेदनमध्येबाट सात विधामा सात जनालाई चयन गरिएको जानकारी गराउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











