05/15/2025, 02:47:09

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ


लोमान्थाङ (मुस्ताङ), ३१ वैशाखः म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ । पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि विभिन्न नीतिका कारण यहाँ अपेक्षाकृत विदेशी पर्यटक आउन नसकेको यहाँका जनप्रतिनिधिको गुनासो छ ।

नजिकैको मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ मन्दिर दर्शनका लागि वार्षिक हजारौँ विदेशी पर्यटक आउँदा पनि जोमसोमबाट करिब ७५ किलोमिटर उत्तरमा रहेको लोमान्थाङमा भने मुस्किलले विदेशी पर्यटक आउँछन् । लोमान्थाङ गाउँपालिकका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार विदेशी पर्यटक प्रवेशका लागि कडाइ गरिँदा यहाँ अपेक्षाकृत रुपमा यहाँको पर्यटन विकास हुन नसकेको हो ।

लोमान्थाङ र लो–धेकर दामोदरकुण्ड गाउँपालिकामा आउनका लागि विदेशी पर्यटकले १० दिनका लागि ५०० अमेरिकी डलर तिर्नुपर्ने अवस्था छ, यो व्यवस्थाका कारण हामीले चाहे जति विदेशी पर्यटक ल्याउन सकेका छैनौँ”, अध्यक्ष गुरुङले भन्नुभयो । राज्यले सहजीकरण गरिदिने हो भने पर्यटकीय सम्भावना भएको ऐतिहासिक लोमान्थाङमा बर्सेनि हजारौँ पर्यटक भित्र्याइ यहाँको जनजीवन उकास्न सकिने उहाँको बुझाइ छ ।

लोमान्थाङ चीनसँग सिमाना जोडिएको गाउँपालिका पनि हो । यहाँको कोरला नाकामा अध्यागमन कार्यालय छ । तर सञ्चालन भने आउन सकेको छैन । उहाँ भन्नुहुन्छ, “लोमान्थाङको सिमाना चीनसँग पनि जोडिने भएकाले आर्थिक गतिविधि बढाउने प्रशस्त आधार छन्, कोरला नाकाको अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा हामीले लाभ लिन पाएका छैनौँ ।

गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले चीनसँग सिमाना जोडिएको लोमान्थाङ–१ नेचुङमा पर्ने कोरला नाकाको दशगजा नजिक स्थापित अध्यागमन कार्यालय र सशस्त्र प्रहरी बलको (बिओपी) भवन उद्घाटन गर्नुभएको थियो । त्यसयता कार्यालय सञ्चालनमा आउने र यहाँको आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिए पनि हालसम्म त्यसो नभएको अध्यक्ष गुरुङले गुनासो गर्नुभयो । “अध्यागमन कार्यालय सञ्चालनका लागि खाद्य र पशु क्वारेन्टिन आवश्यक पर्छ, कार्यालय उद्घाटन त भयो तर त्यो सुविधा नहुँदा अहिले सञ्चालन हुन नसकेको अवस्था छ”, उहाँले भन्नुभयो ।

लोमान्थाङ १५औँ शताब्दीदेखि २०औँ शताब्दीसम्म भारत–नेपाल–तिब्बतबीचको व्यापारमार्ग थियो । तर अहिले यो नाका प्रायः ठप्प जस्तै छ । स्थानीयलेसमेत व्यापार गर्न नपाउँदा समस्या भोग्नुपरेको उहाँको भनाइ छ ।

अध्यक्ष गुरुङका अनुसार लोमान्थाङमा बिरामीको उद्धारका लागि पनि समस्या छ । यहाँ हेलिकप्टर उडानका लागि गृहमन्त्रालयबाट अनुमति लिनुपर्ने अवस्था छ । कहिलेकाहीँ अनुमति लिँदा हुने ढिलाइका कारण बिरामीको अकालमै ज्यान जानेलगायत समस्या रहेको उहाँको गुनासो छ । बिरामीको उपचारका लागि स्थानीय तहले अस्पताल त बनाएको छ तर त्यहाँबाट बिरामीले लाभ लिन सकेका छैनन् । “हामीले यहाँ अस्पताल त बनायौँ तर आवश्यक जनशक्ति र उपकरणको अभाव छ, यस विषयमा प्रदेश सरकार र केन्द्र सरकारसँग पटकपटक आग्रह गर्दा पनि समस्या समाधान हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

कूल पाँच वटा वडा रहेको लोमान्थाङको करिब दुई हजार जनसङ्ख्या छ । यहाँ रहेको ६०० वर्र्ष पुरानो बस्ती विशाल फाँटमा बसेको छ । चौतर्फी रुपमा माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ । यो बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले भरिपूर्ण पनि छ । यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान हो ।

समुन्द्री सतहदेखि तीन हजार ८५० मिटर उचाइमा रहेको लोमन्थाङ उपल्लो मुस्ताङको प्रवेश बिन्दु पनि हो । यहाँ दुई हजार वर्षभन्दा पहिले माटोको पहाड खोपेर बनाइएको ‘सिजा झोङ’ छ । अध्यक्ष गुरुङका अनुसार गुफाभित्र साना र ठूला गरी कम्तीमा ६० वटा कोठा छन् । “यहाँ आउने जोकोही पर्यटक पनि एकपटक गुफा नहेरी फर्कंदैनन्”, उहाँले भन्नुभयो, “ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना भएको लोमान्थाङले यसबाट लाभ भने लिन सकेको छैन ।

अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको बीचमा रहेको यो क्षेत्र १३औँ शताब्दीका लो राज्यको राजधानीका रुपमा स्थापना भएको इतिहास छ । १८औँ शताब्दीमा नेपालको एकीकरण गरे पनि मुस्ताङ राज्य र लोमान्थाङले वंशाणुशासन नेपालमा गणतन्त्र आउनुअघिसम्म कायम राख्दै आएको थियो । यहाँका अन्तिम राजा जिग्मे पल्भर विस्ट र उहाँभन्दा अगाडिका राजाको दरबार अहिले एक्लो जस्तै छ । यो क्षेत्र इतिहास र धर्ममा रुचि राख्नेका लागि महत्वपूर्ण गन्तव्य भएको अध्यक्ष गुरुङको बुझाइ छ ।

लोमान्थाङ हजारौँ वर्ष पुरानो तिब्बती र बौद्ध संस्कृतिको केन्द्र हो । यहाँका गुम्बा, महलहरू र पुराना चित्रकलामा त्यो इतिहास देख्न पाइन्छ । यहाँ रहेको राजमहल र झम्पा, थुब्चेन, छोदे र छोपलाका गुम्बा धार्मिक तथा कलात्मक दृष्टिले विशेष भएको उनको भनाइ छ । भौगोलिक रुपमा लोमान्थाङले सुक्खा भूभाग भएको ठाउँ हो । यहाँबाट नीलगिरि, धौलागिरि र अन्नपूर्ण हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

लोमान्थाङमा राजसी गुम्बा, हजारौँ वर्ष पुराना भित्तेचित्र, मूर्तिकला र बौद्ध ग्रन्थहरू यहाँ पाइन्छन् । यहाँ आउने पर्यटकका लागि लो राज्य छँदाका राजाहरुको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै गएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ