05/10/2025, 18:31:43

भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक : उपप्रधानमन्त्री सिंह


काठमाडौँ, २७ वैशाख : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा रहेको नेवारी कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल भाषा एकेडेमीद्वारा आज यहाँ आयोजित ‘नेवाः प्रविधि र शिल्प ज्ञान पहिलो राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै उहाँले मुलुकका सांस्कृतिक धरोहरको संरक्षणमा ऐकेडेमीले गरिरहेको योगदान अनुकरणीय रहेको बताउनुभयो ।

उप्रधानमन्त्री सिंहले भन्नुभयो, “सम्पदाका रुपमा रहेका पहिचानको संरक्षण गर्दै नेवार समुदाय राजनीतिमा पनि आउन जरुरी छ, कार्यक्रमको निचोड समुदायका सबै तह र तप्काले थाहा पाउनुपर्छ ।

काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलले नेपालको मौलिक संस्कृति र संस्कार बोकेको नेवार समुदायको परिचयका रुपमा रहेका खानपान, बाजागाजा, रहनसहन, जात्रा, वेशभूषा, कृषिकर्म र शिल्प ज्ञानलाई विज्ञान र आधुनिकतासँग जोड्नसके नयाँपुस्तालाई आफ्नो सभ्यता अघि बढाउन सहज हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेवा प्रविधि र शिल्प ज्ञानलाई पाश्चात्य दृष्टिकोणबाट मात्र नभई समुदायले विचारका आधारमा अनुसन्धान अघि बढाउन जरुरी छ, नेपाल भाषा नेपालीलेभन्दा विदेशीले बढी अनुसन्धान गरेको तथ्याङ्कले देखाएको छ ।

नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले नेवाः सभ्यता– नेवा प्रविधि–शिल्प ज्ञान विषयक कार्यपत्र प्रस्तुत गर्दै नेवारी समुदायले अभ्यास गरिरहेका चित्रकला, जात्रा, पर्व, नाटक, लेख, अनुसन्धान र खानपिन देशकै अमूल्य निधि भएको बताउनुभयो । नेवार सांस्कृतिक समुदायका रूपमा पहिलेदेखि परिचित भए पनि नेवार एउटा सभ्यता हो, भनेर पुष्टि गर्न आजको कार्यक्रम पहिलो प्रयास भएको दाबी गर्नुभयो ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रतिनिधि राम मादेनले आदिवासी समुदायभित्र आफ्नो भाषा, संस्कृति, सभ्यता र पहिचान जोगाउने सूचीमा नेवार समुदाय अग्रस्थानमा रहेको उल्लेख गर्नुभयो । प्रतिष्ठानका उपकुलपति पुष्पराज राजकर्णीकारले विश्वमै एउटा सभ्यताका रुपमा रहेको नेवारी समुदायले गर्दै आएका खेतीपाती, जात्रा, पर्व र शिल्पज्ञानलगायत प्राविधिक विषयलाई थप परिस्कृत गर्दै लैजान आवश्यक रहेको धारणा राख्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ