काठमाडौँ — प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंविरुद्ध दुवै कसुरमा अनुसन्धान सुरु गरेको हो । सीआईबीले सोमबारदेखि उनीसँग बयान थालेको छ ।
प्रसाईं चैत १५ को तीनकुने घटनाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । परिसरबाट झिकाएर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर प्रारम्भिक बयान सुरु गरेको हो । उनीविरुद्ध सीआईबीले उच्च अदालत पाटनबाट पक्राउ पुर्जी लिएको थियो । सीआईबीका एसएसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरण, राष्ट्र बैंक ऐन र त्यससँग सम्बद्ध बैंकिङ कसुरमा अनुसन्धान अघि बढाएको जानकारी दिए ।
मेडिकल कलेजसहित विभिन्न व्यवसाय सञ्चालनका लागि बैंकबाट लिएको कर्जा दुरुपयोग र त्यसकै आडमा सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेपछि नेपाल राष्ट्र बैंकले उनीमाथि अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको थियो । गत कात्तिक अन्तिम साता र माघ २३ मा पत्र पठाउँदै राष्ट्र बैंकले प्रसाईं सम्बद्ध कारोबारको अनुसन्धान गर्न भनेको थियो । यसबाहेक आपराधिक समूह लगाएर प्रसाईंले व्यापारी तथा बैंक सञ्चालकलाई धम्क्याएको आरोपमा सीआईबीमा जाहेरी परेको थियो । सीआईबीका एसएसपी होविन्द्र बोगटीले राष्ट्र बैंकको पत्र र पीडितबाट परेका जाहेरीका आधारमा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान अघि बढेको बताए । चैत १७ मा उच्च अदालत पाटनले प्रसाईंलाई पक्राउ अनुमति दिएको थियो ।
प्रसाईं झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज तथा अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक हुन् । प्रसाईं, उनका पारिवारिक सदस्य/नातेदारका नाममा बीएन्डसी मेडिकल कलेज र अस्पतालसहित विभिन्न ३१ वटा कम्पनी रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । यी कम्पनीका नाममा गत असोजसम्म विभिन्न ५ वटा बैंकको साँवा र ब्याज गरी ७ अर्ब २५ करोड ८७ लाख रुपैयाँ कर्जा भुक्तान गर्न बाँकी रहेको सीआईबीको अनुसन्धानमा उल्लेख छ ।
प्रसाईंविरुद्ध तत्कालीन एनसीसी बैंक (पछि कुमारी बैंकमा मर्ज) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा प्रवाह भएको १२ करोड ५० लाख, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिमिटेडबाट होटल एट्रियमका नाममा ५ करोड रुपैयाँ र गुडविल फाइनान्स लिमिटेडबाट यूए मेडिको सप्लाइज एन्ड इक्विपमेन्ट प्रालिका नाममा प्रवाह भएको १० करोड रुपैयाँ कर्जा पनि प्रयोजनविपरीत लिएकोमा उनीमाथि अनुसन्धान गर्न जाहेरी परेको छ । बैंकिङ कर्जा लगानीबाट भएको नाफा लुकाउन विभिन्न पक्षमार्फत शंकास्पद कारोबार गरेको आरोपमा उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको हो ।
विभिन्न देशबाट प्रसाईं र उनका आफन्त/नातेदारका खातामा सन् २०२१ यता साढे १० करोड रुपैयाँबराबरको विदेशी मुद्रा आएको भन्दै राष्ट्र बैंकले यो रकम शंकास्पद कारोबार हुन सक्ने आशंकासहित अनुसन्धान गर्न पनि सीआईबीमा पत्राचार गरिसकेको छ ।
‘प्रसाईं र निजको परिवार सम्बद्ध फर्म र कम्पनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकमहरू जुन प्रयोजनका लागि लिएको हो, सोही प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरेको, विभिन्न बैंक वित्तीय संस्थामा रहेको कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम उपयोग गरेको, निज सम्बद्ध कम्पनीहरूले बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा उल्लेख गरेका प्रयोजनभन्दा अन्यत्र कर्जाको रकम उपयोग गरी कर्जा दुरुपयोग गरेको, बैंकबाट लिएको कर्जा व्यवसायमा मात्र प्रयोग गर्नुपर्ने र व्यवसायको आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नुपर्नेमा ठूलो रकम पेस्कीका रूपमा निज र निज सम्बद्ध कम्पनीहरूलाई प्रदान गरेको,’ उनीमाथि अनुसन्धानका लागि प्रहरीले अघि सारेका प्रमाणमा भनिएको छ, ‘चार वर्षदेखि बीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिलाई प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघी कर्जाको बक्यौता साँवाब्याज भुक्तानी नियमित नभएको देखिन्छ ।’
परियोजनाको बदनियतपूर्ण रूपमा लागत वृद्धि गराएर आवश्यक पर्नेभन्दा बढी कर्जा लगानी गरेको र ऋणी फर्म/कम्पनीका अन्तिम हिताधिकारी प्रसाईं आफैं रहेकोमा पनि उनलाई केन्द्रमा राखेर यो अनुसन्धान अघि बढेको सीआईबीका अधिकारीले बताएका छन् । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ८ मा ‘बैंक/वित्तीय संस्थाबाट लिएको कर्जा’ दुरुपयोग गर्न नहुने उल्लेख छ । उक्त दफामा भनिएको छ, ‘कसैले पनि बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो, सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्नु वा गराउनु हुँदैन ।’ प्रसाईंले सोही दफाविपरीत कर्जा प्रयोग गरेको आरोप लगाइएको छ ।
चैत १५ मा राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा हिंसा भड्काई मानवीय र भौतिक क्षति गराएको आरोपमा पक्राउ परेका प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । तीनकुने घटनापछि फरार भएका प्रसाईंलाई गत चैत २८ मा भारतको आसामबाट नियन्त्रणमा लिइएको थियो । राज्यविरुद्धको अपराध र संगठित अपराधसहितका कसुरमा प्रसाईंमाथि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ । प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधसम्बन्धी मुद्दा पनि विचाराधीन छन् । दुवै मुद्दामा उनी धरौटीमा छुटेका प्रतिवादी हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध दायर गरेको साइबर अपराधसम्बन्धी मुद्दामा गत असोज १५ मा १ लाख धरौटी बुझाएर छुटेका थिए । २०८१ असोज ६ मा उनी साइबर अपराधकै आरोपमा भक्तपुरस्थित निवासबाट पक्राउ परेकामा ९ दिनपछि असोज १५ मा धरौटीमा रिहा भएका थिए । दुवै मुद्दा काठमाडौं अदालतमा विचाराधीन छन् । तीनकुने घटनाको अनुसन्धान पनि टुंगिएको छैन । साइबर कसुरको मुद्दा अदालतमा र तीनकुने घटना अनुसन्धानकै क्रममा रहेका बेला उनीविरुद्ध सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पनि अनुसन्धान अघि बढेको हो ।
प्रसाईं सुरुमा माओवादीनिकट थिए । माओवादी र एमाले मिलेर नेकपा बनेपछि एकीकृत पार्टीमै लागेका उनी दुई पार्टी विभाजन भएपछि एमालेतिर गएका थिए । एमालेमा उनी केन्द्रीय सदस्य नै बनेका थिए । योबीच प्रसाईं बैंक/वित्तीय संस्था सञ्चालक र व्यापारीविरुद्ध ‘उत्तेजक र समुदाय लक्षित’ अभिव्यक्ति दिएर विवादमा तानिएका थिए । पछि उनी एमालेबाट बाहिरिएर राजावादी कित्तामा गएका थिए ।
भारतीय ‘आपराधिक समूह’ लरेन्स बिस्नोई र दुर्गा प्रसाईंको नाम लिएर धम्की दिई बैंकर र व्यापारीसँग रकम माग्ने समूह सक्रिय भएपछि प्रसाईं यस प्रकरणमा पनि अनुसन्धानको घेरामा तानिएका थिए । यूएई र भारतबाट समेत फोनकलमार्फत धम्की दिने समूहले आफू प्रसाईं र बिस्नोई समूहको मान्छे भन्दै व्यापारी र बैंकरसँग रकम माग्न थालेपछि सीआईबीमा जाहेरी परेको थियो । यस प्रकरणमा केही मानिस पक्राउ परे पनि दाबी गरेअनुसार बिस्नोई समूहसँगको सम्बन्ध स्थापित हुन सकेको थिएन ।