04/28/2025, 19:40:32

प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग


काठमाडौँ, १५ वैशाखः नेपालको नागरिक उड्डयन क्षेत्र सुरक्षित गर्ने गरी कानुन बनाइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेद्वारा प्रस्तुत ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद राजेन्द्रकुमार केसीले उड्डयन क्षेत्र सुरक्षित गर्न कानुनी व्यवस्था आवश्यक भएकाले विधेयक आएको बताउनुभयो ।

बैठकमा सांसद एकनाथ ढकालले प्राधिकरण सेवा प्रदायक र नियमनकारी दुवै निकायका रुपमा काम गरिरहेकामा यो विधेयकपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताउनुभयो । यसबाट उड्डयन क्षेत्रमा सुधार हुने उहाँको विश्वास थियो ।

सांसद प्रेम सुवालले मन्त्रालयअन्तर्गतको संस्था स्वायत्त हुन नसक्ने भएकाले विधेयकमा स्वायत्त शब्द राख्न नहुने विचार राख्नुभयो । कुन काम सरकारले गर्ने र कुन निजी क्षेत्रलाई दिने भन्ने प्रस्ट हुनुपर्ने उहाँको विचार थियो । सौर्य एयर दुर्घटना हुँदा त्यसको सत्यतथ्य सार्वजनिक नभएको सांसद सुवालले सुनाउनुभयो ।

सांसद शिशिर खनालले नियामक र सेवाप्रदायक फरक निकाय हुने व्यवस्थाले स्वार्थको द्वन्द्व नभएर व्यवस्थित हुने विचार राख्नुभयो । विधेयकमा जवाफदेही हुने नदेखिएकाले त्यसलाई मिलाइनुपर्ने उहाँको भनाइ थियो । सार्वजनिक पारदर्शिता र सुरक्षाको विषयलाई पनि सुनिश्चित गर्न पनि सांसद खनालले माग गर्नुभयो ।

सांसद रोशन कार्कीले सञ्चालक समितिमा सरकारको नियन्त्रणले फेरि संस्थालाई राम्रो नगर्ने भएकाले खुला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गनुपर्ने विचार राख्नुभयो । सांसद उदयशम्शेर जबराले दुर्घटना हेर्ने छुट्टै निकायको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद रञ्जुकुमारी झाले यसअघिको सौर्य एयरको दुर्घटना जानी बुझी भएको जस्तो देखिएकाले वायु सेवा र नागरिक उड्डयन प्राधिकरण छुट्टा छुट्टै निकाय बनाएपछि सुधार हुने आशा गरिएको बताउनुभयो ।

सांसद दुर्गा राईले आइतबार सेवा प्रदायक निकायको विषयमा र आज नियमनकारी निकायका बारेमा भइरहेको छलफलले अन्तरराष्ट्रियस्तरमा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिने गरी कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।

सांसद बिमला सुवेदीले युरोपियन युनियन र आइकाओको सुरक्षा संवेदनशीलताको चासोका बारेमा विधेयकमा केही उल्लेख नगरिएको बताउनुभयो । सांसद दामोदर पौडेल बरागीले दुर्घटना भएपछि कार्यदल बन्ने प्रतिवेदन आउने तर कार्यान्वयन नहुने विषयलाई विधेयकले केही गर्न खोजेको बताउनुभयो ।

सांसद शिव नेपालीले नेपालको हवाई यातायातलाई नयाँ उचाइमा लैजान विधेयकले सहयोग गर्ने बताउनुभयो । सांसद हितबहादुर तामाङले

सांसद अमरेशकुमार सिंहले नेपालका नियामक निकाय सबै अपारदर्शितामा चलेकाले समस्या भएको बताउनुभयो । अपारदर्शिताकै कारण समस्या आएकाले त्यसको समाधानमा पनि ध्यान दिन उहाँले अनुरोध गर्नुभयो ।

सांसद लक्ष्मी तिवारीले नेपाल विश्वमा नागरिक उड्डयन क्षेत्रमा सुरक्षित छ भन्ने सन्देश दिने गरी विधेयक परिमार्जित गरिनुपर्ने बताउनुभयो । सांसद जीवन परियारले नेपालको आकाश किन असुरक्षित भन्ने अन्तरराष्ट्रिय अभ्यासको अध्ययन गरी विधेयकलाई अन्तिम रुप दिनुपर्ने बताउनुभयो । यो विधेयकलाई सकेसम्म प्रतिनिधिसभामै रोक्ने र नसके राष्ट्रियसभामा जान नदिने गरी षड्यन्त्र भइरहेकाले सचेत हुनुपर्ने बताउनुभयो ।

सांसद रामकृष्ण यादवले नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि यो विधेयकले सहयोग गर्ने विश्वास गर्नुभयो । सञ्चालक समितिको अध्यक्ष मन्त्रीबाहेक अरू कोही हुने व्यवस्था गरिनुपर्ने उहाँको विचार थियो । सांसद रणेन्द्र बरालीले उड्डयन क्षेत्रमा राम्रो गर्नेहरु पदमा धेरै नटिक्ने गरेकाले कानुनसँगै यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद नैनकला थापाले कानुनी व्यवस्थासँगै अप्ठ्यारोमा परेका सेवाग्राहीले विषयलाई सार्वजनिक गरेमात्र सुधार हुने विचार राख्नुभयो ।

सांसद सुनिता बरालले यो विधेयक यसअघि राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामै नआएकाले अहिले पनि त्यस्तो हुने वातावरण आउन नदिनेतर्फ ध्यानाकर्षण गराउनुभयो । शङ्काको सुविधालाई न्यूनीकरण गरी जवाफेहितालाई प्रवद्र्धन गर्ने विषय पनि विधेयकमा समेट्नुपर्ने उहाँको विचार छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ