04/27/2025, 05:10:50

दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता


म्याग्दी (बेनी), १३ वैशाखः सवारी दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन बेनीमा आज ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको महिलाहरूबीचको उक्त प्रतियोगितामा सञ्जु जिसी प्रथम, सृजना थापा द्वितीय र कल्पना ढुङ्गाना तृतीय हुनुभएको छ ।

प्रतियोगितामा १२ जना महिलाले सहभागिता जनाएका थिए । तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने र बिस्तारै चलाउने बानीको विकास गराउन सवारी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्तिक्षेत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी आजै आयोजित महिला सटफुट प्रतियोगितामा मुना गर्बुजा प्रथम, कल्पना ढुङ्गाना द्वितीय र भिमा खड्का तृतीय हुनुभएको छभने पुरुष सटफुटमा मोहन खड्का प्रथम, जनक सोनाम द्वितीय र बलबहादुर आले तृतीय हुनुभयो । महिला सटफुटमा १५ र पुरुष सटफुटमा १७ जनाले सहभागिता जनाउनुभएको थियो ।

तीनवटै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमशः नगद रु एक हजार ५००, एक हजार र ५०० नगदसहित ट्रफीद्वारा पुरस्कृत गरिएको छ । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्री, शाखा अध्यक्ष घर्तिक्षेत्रीलगायत शाखाका पूर्वअध्यक्षहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष खत्रीले म्याग्दी जेसिजले युवालाई लक्षित गरी आयोजना गर्ने कार्यक्रमहरू अनुकरणीय रहेको बताउँदै समाजमा युवाको भूमिका बढाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले सवारी चालकलाई बिस्तारै सवारी चलाउनुपर्छ भन्ने सकारात्मक सन्देश फैलाउन प्रतियोगिताले सहयोग पुर्‍याएको बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ