04/27/2025, 04:36:39

खेलकुदको विकासका लागि प्रदेशमा खेलकुद ग्राम निर्माण गर्नेछौँ : कोशी प्रदेश मुख्यमन्त्री कार्की


मोरङ, १३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशमा ‘कोशी खेलकुद ग्राम’ निर्माण गरिने बताउनुभएको छ ।

मनमोहन मेमोरियल कप फाउन्डेसन इनरुवाद्वारा आजदेखि विराटनगरमा आयोजित तेस्रो संस्करणको ‘एमएम राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता–२०८२’ उद्घाटन गर्दै उहाँले ग्राम स्थापनाबाट समग्र खेलकुद क्षेत्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैचा नगरपालिकासँगको संयुक्त प्रयासमा खेलकुदबारे पठनपाठन र रङ्गशालालासहित अन्य सामग्रीको व्यवस्था गरिने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी तीन वर्षभित्र यस क्षेत्रमा क्रिकेटका लागि अन्तरराष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद रङ्गशालामा यही वैशाख १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । पचास ओभरको ‘लिगकम नकआउट’ का आधारमा हुने प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरी बल, नेपाल आर्मीका विभागीय टोली, बागमती, कोशी प्रदेश र भारतको आसाम क्रिकेट क्लबको सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु चार लाख, दोस्रोलाई रु दुई लाख प्रदान गरिने छ भने उत्कृष्ट हुने विधागत खेलाडी र प्लेयर अफ दी म्याचलाई नगद पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगितामा नेपालका ‘क’ श्रेणीका क्रिकेट खेलाडीहरूको सहभागिता रहेको छ । आयोजकले यसअघि सुनसरीको इनरुवामा २०७५ सालमा पहिलो र २०७६ मा दोस्रो चरणको प्रतियागितामा सम्पन्न गरिसकेको छ ।

आज भएको खेलमा साबिक विजेता नेपाल आर्मीको त्रिभुवन क्लबले सशस्त्र प्रहरी क्लबलाई दुई विकेटले पराजित गरेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ