काठमाडौँ, १३ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रतिलिपि अधिकारको सुरक्षामा सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रतिलिपि अधिकार राजिष्टारको कार्यालयले आज आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “बौद्धिक सम्पत्ति सुरक्षाका लागि नीतिगत सुधार गरी बौद्धिक सम्पत्ति र मौलिक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । प्रतिलिपि अधिकारको सुरक्षामा सरकारले अभिभावकको भूमिका निर्वाह गर्नेछ ।” देशका गहनाका रूपमा चिनिने नेपाली सर्जकद्वारा गरिएका सिर्जनाको चोरी गरी आफ्ना नामबाट प्रकाशन÷प्रसारण गर्नेलाई सरकारले कारबाही गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
बौद्धिक सम्पत्ति संरक्षणका विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै मन्त्री भण्डारीले नेपालका मौलिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्न सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो । “नेपालका पुराना लोककला संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको प्रवर्द्धन गर्नुपर्छ । सरकार आवश्यक सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गरी राज्यको भूमिका बढाउनुपर्ने र बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धि गर्न जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरेको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई सुरक्षित राख्न सहयोग पुगेको छ । यसप्रकारका कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्ने छ ।”
बौद्धिक सम्पत्ति सङ्गठनबारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय ट्रेडमार्कका विषयमा विवाद आउने गरेकोले यसको समाधानमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल सहज र छिटो गर्नुपर्ने बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बौद्धिक सम्पत्ति दुरुपयोगका विषयमा सम्बन्धित व्यक्ति अनविज्ञ रहने गरेकाले समस्या हुने गरेको बताउनुभयो ।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अर्थतन्त्रको उन्नति र आर्थिक समृद्धिका लागि औद्योगिक सम्पत्ति महत्वपूर्ण भए पनि यो विषय छायाँमा परेको बताउनुभयो । विभागले पछिल्लो समयमा एकीकृत दर्ता गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको र उजुरी फछ्र्यौटमा तीव्रता दिएको उहाँले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले कलात्मककार्य र सिर्जनाको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बौद्धिक सम्पत्ति साँझा चासोका विषय भएको बताउँदै यस विषयमा सबैको चासो र सरोकार रहनुपर्ने बताउनुभयो ।
विश्व बौद्धिक सम्पत्ति सङ्गठनले सन् २००१ देखि यो दिवस मनाउन थालेको हो । सङ्गठनले हरेकवर्ष विभिन्न फरक फरक नारा तय गरेर यो दिवस मनाउँदै आइरहेको सन्दर्भमा यस वर्ष ‘बौद्धिक सम्पत्ति र सङ्गितः बौद्धिक सम्पत्तिमा सङ्गितको ताल महसुस गरौँ’ भन्ने नारा तय गरेको छ ।