04/25/2025, 14:22:18

सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको छ : जनार्दन शर्मा

कराउनेहरू कराइराख्छन् सबै ठूला दलहरू नयाँ, पुराना सबै दलहरूले आफूलाई बदल्नुपर्छ, रूपान्तरण हुनुपर्छ, जनताप्रति समर्पित हुनुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ


त्रिवेणी (रुकुमपश्चिम), १२ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको बताउनुभएको छ । आज रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले राजनीतिक दल सत्तामा लिप्त हुँदा सुशासनका बाटाहरू कमजोर हुँदै गएको बताउनुभयो ।

सरकारमा जानेहरूले सुशासनमा काम गर्नुको सट्टा आफ्नो स्वार्थमा काम गर्ने परिपाटी बढ्दै गएको उहाँको भनाइ थियो । सरकारमा जानेले आफ्नो स्वार्थ केन्द्रित काम गर्नाले जनतामा असन्तुष्टि बढ्दै गएको शर्माले उल्लेख गर्नुभयो । शिक्षकहरू आन्दोलनमा रहेको विषय उठान गर्दै शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्ने र त्यसका लागि पार्टीले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको समेत बताउनुभयो ।

शिक्षा, स्वास्थ्यलगायत विषयमा सुधार गरेर देशभित्रै आफ्नै स्रोत साधन प्रयोग गरेर राष्ट्र समृद्धि बनाउने दृढसङ्कल्प, दूरदृष्टि भएको नेतृत्व जनताले खोजिरहको उहाँले बताउनुभयो ।

फरक प्रसङ्ग जोड्दै प्रतिनिधिसभा सदस्य शर्माले केही व्यक्ति तथा पार्टी सङ¬्घीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध अफवाह फैलाउने निरङ्कुशतालाई फिर्ता ल्याउने कुरा गरिरहेको हुँदा भ्रममा परेर यसका पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो । “कराउनेहरू कराइराख्छन् सबै ठूला दलहरू नयाँ, पुराना सबै दलहरूले आफूलाई बदल्नुपर्छ, रूपान्तरण हुनुपर्छ, जनताप्रति समर्पित हुनुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ”, भन्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ