04/22/2025, 09:37:19

निर्माण भएका संरचनाको संरक्षण आवश्यक छ : सुदूरपश्चिम मुख्यमन्त्री शाह


भजनी (कैलाली), ९ वैशाखः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भौतिक संरचना निर्माणसँगै त्यसको सदुपयोग र संरक्षण आवश्यक पर्नेमा जोड दिनुभएको छ ।

कैलालीको टीकापुर नगरपालिका–७ स्थित बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थलको भवन उद्घाटन गर्दै उहाँले निर्माण भएका संरचना सदुपयोगसहित संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयोे । उहाँले करोडौँ रकम खर्च गरेर संरचनाबिना योजना निर्माण हुँदा त्यसबाट राज्यको ठूलो रकम दुरुपयोग हुने गरेको बताउनुभयो । “योजना बनाउँदा आवश्यकतालाई ध्यान दिन जरुरी हुन्छ”, उहाँले भन्नुभयो, “अनावश्यक क्षेत्रमा बढी रकम खर्च हुँदा आवश्यकताका आधारमा बनेका संरचनाबाट पनि नागरिक सन्तुष्ट हुन सक्ने स्थिति छैन ।

आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले भवन तथा पूर्वाधार निर्माण तथा विकास योजनामा औचित्य पुष्टि नभए प्राथमिकतामा नराख्ने मुख्यमन्त्री शाहले उल्लेख गर्नुभयो । “योजनाको औचित्य पुष्टि भए मात्र प्रदेश सरकारले प्राथमिकतामा राख्ने छ”, उहाँले भन्नुभयो, “बनेका योजना संरक्षणको जिम्मेवारी कसले लिने र त्यसको उपयोग हुने भएपछि बजेटको सुनिश्चितता गर्ने नीति लिएका छौँ ।

विश्वभर आर्थिक मन्दी रहेको बताउँदै मुख्यमन्त्री शाहले आवको बजेट रु दुई–तीन अर्ब घटेर आउन सक्ने आँकलन गर्नुभयो । “बजेटका स्रोतहरू घट्दै जाँदा हाम्रा आवश्यकता बढ्दै गएका छन् । यो एकदम चुनौतीपूर्ण स्थिति पनि हो”, उहाँले भन्नुभयो, “यो चुनौतीलाई सामना गर्न सबै विकास साझेदारहरूको एकता आवश्यक छ ।

देशको विकासमा अन्तरराष्ट्रियस्तरको सहयोग निरन्तर हुने अपेक्षा गर्दै मुख्यमन्त्री शाहले सुदुरपश्चिम प्रदेशका तराईका जिल्लामा बाढी र डुबानको उच्च जोखिम रहेकाले पूर्वतयारीसहित सावधानी अपनाउन सबैलाई अनुरोध गर्नुभयो । उहाँका अनुसार पहाडी जिल्लामा सबैभन्दा बढी जोखिम भूकम्पको छ ।

परराष्ट्र मन्त्रालय जापान र वल्र्ड भिजन जापानको आर्थिक सहयोग, वल्र्ड भिजन इन्टरनेसनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) को साझेदारीमा सञ्चालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजनाअन्तर्गत रु एक करोड २१ लाख ८१ हजार नौ सय २९ मा उक्त भवन निर्माण गरिएको हो । बाढीको उच्च जोखिम रहेको सो क्षेत्रमा बाढी आएमा सोही भवनमा आश्रय लिन सकिने छ भने अन्य विपद्को समयमा पनि भवन प्रयोगमा ल्याउन सकिने छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ