04/22/2025, 10:00:37

बजेट कार्यान्वयनमा गति बढाउन कर्णाली मुख्यमन्त्री कँडेलको निर्देशन


कर्णाली, ९ वैशाखः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा उहाँले मन्त्री तथा सचिवलाई निर्देशन दिनुभएको हो ।

बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सकेमात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने मुख्यमन्त्री कँडेलको भनाइ छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको जनाउँदै उहाँले लक्ष्यअनुसार प्रगति हासिल हुन नसके पनि पछिल्लो समय केही सुधार आएको उहाँले बताउनुभयो ।

जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त प्रतिफल आउन नसकेकाबारे उहाँले सचिवलाई मुख्यमन्त्री कँडेलले गर्नुभयो । “पहिला जनशक्ति पर्याप्त थिएन भनेर काम रोकिन्थे तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन अपेक्षित परिणाम आउन सकेन ? समीक्षा गर्नैपर्छ”, उहाँले भन्नुभयो, “हामीले साउनदेखि मेहनत गरिरहे पनि उल्लेख्य प्रतिफल प्राप्त गर्न सकेका छैनौँ । सुशासन र बजेट कार्यान्वयनमा प्रभावकारी नतिजा आउने गरी मन्त्री तथा सचिवहरूको ध्यानाकर्षण गराउँछु ।

आफ्ना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय काम अलपत्र परेको बताउँदै उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति केन्द्रित हुन र परम्परागतभन्दा जनताले अनुभूति हुनेगरी बजेटको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो । अनुशासनको नाम काम अड्काएर राख्ने नभई स्थिति बसाल्ने र मन्त्रालयले निकास निकाल्नेगरी काम गर्नसमेत मुख्यमन्त्री कँडेलले मन्त्री तथा सचिवहरूलाई सुझाउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ