२८ साउन, मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच सोमबार भेट भएको छ । सुदूरपश्चिमको अस्थायी राजधानी कैलालीमा भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिए ।
सुदूरपश्चिमका बासिन्दा देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्रिपरिषद बैठकले बागमतीको प्रदेश प्रमुख सिफारिस गरेको थियो भने १७ साउनमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
लगत्तै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल भएका देवकोटा आइतबार गृहजिल्ला कैलाली पुगेका थिए । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देवकोटालाई सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाई दिएका थिए ।
सोही भेटमा प्रदेश प्रमुखहरु बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको प्रदेश प्रमुख देवकोटाको सचिवालयले जनाएको छ ।