04/07/2025, 15:45:17

ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल


पाटन (ललितपुर), २४ चैत, राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ ।

पाटन दरबार क्षेत्रमा पुनःनिर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन तथा शिलापत्र अनावरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताउनुभयो ।

भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्णस्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको बरदानका रुपमा कैयौं रमणीयस्थल रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थल नेपालीको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको उल्लेख गर्दै स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताउनुभयो । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पूर्ववत्स्वरूप र संरचनामै पुनःनिर्माण तथा जीर्णोद्वार चुनौतीपूर्ण हुँदाहुँदै मन्दिर पुनःनिर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सम्पदा, संस्कृति संरक्षणमा ललितपुरले गरेको चुनौतीपूर्ण कामको प्रशंसा गर्दै गौरव गर्न लायक सम्पदाको संरक्षण र सम्वद्र्धनमा उत्कृष्ट काम गरेको धारणा राख्नुभयो । उहाँले पुरातात्विक संरचनामा कुनै पनि सम्झौता गरी इतिहासलाई कायम राख्दै १० वर्षको अन्तरालमा यो सम्पदा पुनःनिर्माणमा जापानको सहयोग र स्थानीयको समर्पण महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालको विविधतापूर्ण संस्कृति र प्रकृतिलाई जोगाउनु हामी सबैको कर्तव्य भएको भन्नुभयो । उहाँले यसलाई प्राथमिकता दिएर विश्वसामु परिचित गराउँदै नेपाललाई खुला सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालका लागि जापानी राजदूत माएदा तोरुले अन्तरराष्ट्रिय समुदायको निरन्तर सहयोग र नेपालीहरुको अथक प्रयासले भूकम्पले क्षति पु¥याएको सम्पदाको पुनःनिर्माण सफल भएको बताउनुभयो । उहाँले यो मन्दिर नेपाल र जापानबीचको मित्रताको रुपमा चीरकालसम्म निरन्तरता रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुरातात्विक सम्पदाहरुको ऐतिहासिक महत्वलाई पुरानै स्वरुपमा कायम राखेर निर्माण गर्न स्थानीयलाई जिम्मेवारी दिएर उपभोक्ता समितिमार्फत सम्पन्न गरेको जानकारी गराउनुभयो ।

विसं २०७२ को भन्दा ठूलो भूकम्प आउँदा पनि अहिले पुनःनिर्माण गरिएका सम्पदा सुरक्षित रहने विश्वास व्यक्त गर्नुभयो । देगुतलेजु मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष किरणमान प्रधानले २०७२ को भूकम्पले क्षति पु¥याएको मन्दिर पुनःनिर्माण गर्ने चुनौतीपूर्ण कार्यको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराउनुभयो ।

उहाँले यो महत्वपूर्ण ऐतिहासिक सम्पदाको पुनः निर्माण गरेर भावी पुस्ताको लागि काम गरेको धारणा राख्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ