कास्की, २३ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पर्यटन राजधानी पोखरामा खेलकुदको विकासका लागि पोखरामा ठूला पूर्वाधार निर्माण जरुरी रहेको बताउनुभएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा शनिबारदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै आज उहाँले पोखरा खेलकुदको केन्द्र बन्ने प्रशस्त सम्भावना रहेकाले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिने बताउनुभयो ।
उहाँले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष सरकारकोतर्फबाट बजेट व्यवस्था गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो । “यस वर्ष क्रिकेट मैदानका लागि सक्दो बजेट विनियोजन हुन्छ, खेलकुद मन्त्रालयबाट प्रस्ताव आउला, त्यसमा मेरो जोड रहनेछ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।
पोखरामा क्रिकेट, फुटबल जस्ता खेलका लागि ठूला पूर्वाधार निर्माण आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पोखरा जस्तो सुन्दर ठाउँमा अन्तरराष्ट्रियस्तरका रङ्गशाला बनाउनु पर्दछ । कूटनीतिक कारणले खेल पूर्वाधार महत्वपूर्ण छ । केही देशका लागि पोखरा सन्तुलित स्थान समेत बन्न सक्छ ।”
उहाँले प्रतियोगितामा भाग लिन आउने खेलाडी, क्लब, प्रशिक्षक, रेफ्रीलाई शुभकामना व्यक्त गर्दै प्रतियोगिताबाट उम्दा र क्षमतावान् खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा कूल १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिनुभयो । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु ३० हजार, उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याटरले जनही रु १० हजार र ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजार प्राप्त गर्ने एकेडेमीले जनाएको छ । एकेडेमीका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीका नाममा प्रतियोगिता हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










