काठमाडौँ, २२ चैतः कुनै पनि मुलुकको विकास र समृद्धिको आधारस्तम्भ नै युवा हो । सक्रिय युवाको बाहुल्यता नै कुनै पनि मुलुकको विकास र समृद्धिको मेरुदण्ड हो । कुनै पनि मुलुकका लागि युवाको बाहुल्यता भएको समयावधि ५०–६० वर्षको हुन्छ । त्यसपछिको अवधि भनेको अहिलेका युवा वृद्धावस्थामा प्रवेश गर्ने अवधि हो । यो अवधिमा अधिकांशले केटाकेटीसरह नै बसीखाने आश्रित समुदायमा पर्दछन् । उमेर बढ्दै जाँदा उपचार खर्च पनि बढ्छ र सोही अनुसार स्वास्थ्यकर्मी र अस्पतालको सङ्ख्या वृद्धि गर्नुपर्ने हुन्छ । अन्ततः यसले सरकारकै खर्च बढाउँछ । वृद्धभत्ता, पेन्सनजस्ता सामाजिक सुरक्षाभत्तामा बर्सेनि ठूलो धनराशि बजेटमा छुट्याउनुपर्दा राज्यले ठूलो व्ययभार बोक्नुपर्ने हुन्छ । यसरी एकातिर राज्यको व्ययभार बढ्ने, अर्कोतिर आर्थिक रूपले सक्रिय उमेर समूहको अनुपात घट्दा आर्थिक वृद्धिमा प्रतिकूल असर पर्ने सम्भावना रहन्छ । तर युवाको जोस, जाँगर र नयाँ विचारलाई उत्पादनमूलक आर्थिक क्रियाकलापमा लगाउँदा अर्थतन्त्र समुन्नतितर्फ लम्किन्छ । युवामा अथाह साहस, जोस, जाँगर र क्षमता हुन्छ, जुन नेपालका सन्दर्भमा दिनानुदिन खेर गइरहेको छ । उनीहरू भोलिका कर्णधार मात्र होइनन्, आजका आर्थिक सामाजिक परिचालक पनि हुन् । त्यसैले युवाको ऊर्जालाई मुलुकको अर्थतन्त्रको सुधारका लागि लगाउनुपर्ने अहिलेको आवश्यकता छ ।
काम गरे नै मुलुकको विकास र समृद्धि हुन्छ । भाषण र गफले हुँदैन भन्ने विगतको अनुभवले पुष्टि भइसकेको छ । विकास र समृद्धिका लागि मुख होइन, हात र यन्त्र चलाउन सक्नुपर्छ । यसका लागि युवा समूहको भूमिका महत्वपूर्ण हुन्छ । विकास पूर्वाधारको निर्माण र उपयुक्त आर्थिक नीतिमार्फत लगानी र श्रम गर्नेलाई उत्साहित गर्नु राज्यको प्रमुख दायित्व हो । १५ देखि ६५ वर्षसम्मको उमेर समूहलाई कामकाजी वा आर्थिकरूपले सक्रिय हुन सक्ने जनशक्ति मानिन्छ । २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार यस उमेर समूहको अनुपात ६७ प्रतिशत रहेको अनुमान छ । तीमध्ये पनि युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत छ । त्यसमध्ये करिब ६० प्रतिशत युवा वैदेशिक रोजगारीमा छन् । यसरी आर्थिक रूपले सक्रिय हुन सक्ने उमेर समूहको जनसङ्ख्याको अनुपात अधिक हुनुलाई जनसाङ्ख्यिकी लाभ उपलब्ध भएको भनिन्छ । यस्तो लाभको उपयोग गरी मुलुकलाई विकास र समृद्धिको बाटोमा डोर्याउन सकिन्छ । तर विडम्बना, जनगणनाकै तथ्याङ्कअनुसार देशमा १९.८ प्रतिशत युवा पूर्ण बेरोजगार छन् । बर्सेनि पाँच लाखभन्दा बढी युवा श्रम बजारमा प्रवेश गर्छन् । तीमध्ये पनि १० प्रतिशत मात्र स्वदेशमा नै रोजगारीका अवसर प्राप्त गर्छन् ।
विश्व बैङ्कका अनुसार रोजगारीको प्रमुख क्षेत्र निजी व्यवसाय हो, जसले ९० प्रतिशत रोजगारी सिर्जना गर्छ । त्यसमा पनि घरेलु, साना तथा मझौला उद्योगको योगदान अझ बढी छ । सरकारी क्षेत्रमा वार्षिक करिब पाँच हजारले मात्र अवसर पाउँछन् । नेपालमा युवा बेरोजगारीको अवस्था गम्भीर छ । विभिन्न अध्ययन र सर्वेक्षणहरूले यो समस्या उजागर गरेका छन् ।
राष्ट्रिय जीवनस्तर सर्वेक्षण २०७९÷८० अनुसार, देशको कुल बेरोजगारी दर १२.६५ पुगेको छ । विशेषगरी १५ देखि २४ वर्ष उमेर समूहमा यो दर २२.७५ रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत, चालु आर्थिक वर्षमा सूचीकृत बेरोजगारको सङ्ख्या करिब आठ लाख पुगेको छ । तथ्याङ्कको विश्लेषण गर्दा नेपालमा युवा बेरोजगारी दर उच्च रहेको देखिन्छ । यो समस्या समाधान गर्न दीर्घकालीन रोजगार सिर्जना, सीप विकास र उद्यमशीलता प्रवद्र्धनमा राज्यले ध्यान दिन आवश्यक छ । नेपालमा रोजगारीका बहुआयामिक विषय अझै पनि पहिचान, अभिवृद्धि र निरन्तरता कायम गराउन निकै चुनौती छ । यही अवस्थामा नेपालमा सबै युवाका लागि रोजगारी सिर्जना हुन सम्भव छैन । यसले दक्ष, अर्धदक्ष र अदक्ष सबै प्रकारका युवालाई रोजगारीको खोजीमा देशबाटै पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ । व्यापक रूपमा विस्तारित उद्यमशीलता विकासले मात्र श्रम बजार फराकिलो हुँदै जानेछ । अहिले नेपाली श्रम बजारमा केही विडम्बना पनि अनुभव हुँदैछ । कतिपय उद्योग प्रतिष्ठानले मुलुकभित्र सीपयुक्त जनशक्ति पाउन नसकेर बाहिरबाट ल्याउनु परेको छ । कतिपय कालिगढ भारत र बङ्लादेशबाट आउने गरेका छन् तर नेपाली भने काम नपाएर सस्तो श्रम गर्न विदेश जानुपर्ने बाध्यता छ । काम, श्रम र सीपको प्रभावकारी सन्तुलन मिल्न सकेको छैन । नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो भएको भनेर पनि आलोचना हुने गरेको छ । शिक्षालाई श्रम, सीप, रोजगारी, उद्यमशीलता र स्वरोजगारीसित प्रभावकारी रूपमा जोड्न सकिएको छैन । सीप र दक्षता भएको श्रम शक्तिले देशभित्र र बाहिर दुवैतिर काम गर्न सक्छ । बाहिर गएको कतिपय ठूलो जनशक्ति पनि दक्ष हुन नसक्दा मर्यादित काम पाउन कठिन भएको छ । मर्यादित श्रम वातावरण बनाउन पनि यो रोजगारी प्रवद्र्धन दशकले भूमिका निर्वाह गर्नुपर्छ । श्रमलाई प्रतिफलयुक्त बनाउनुपर्ने छ । श्रमको उचित मूल्य अर्थात् ज्याला पाउने अवस्थासमेत सिर्जना गर्नु आवश्यक छ । वैदेशिक रोजगारीबाट फर्केका धेरै नेपाली देशभित्र उद्यम गर्न चाहन्छन् । त्यसका निम्ति लगानीका वातावरण बनाउनुपर्ने छ ।
यसरी विश्वव्यापीकरणसँगै सिङ्गो विश्व नै एउटा गाउँ भएको छ । सञ्चार एवम् प्रविधिको क्षेत्रमा आएको छलाङसँगसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका सामु पनि अवसर र चुनौती एकसाथ रहेका छन् । विदेशमा रहँदा विकसित मुलुकले गरेको विकास पछाडिका रहस्यहरू बुझ्ने सबैभन्दा ठूलो अवसर प्राप्त भएको छ । विकासका लागि शासन व्यवस्था, सरकारका अङ्गहरूले प्रदान गर्ने सेवासुविधा, सार्वजनिक प्रशासनको चुस्तदुरुस्त सेवाप्रवाह, सुशासन र अझ भनौँ समयको महत्व तथा अनुशासन महत्वपूर्ण पक्ष हुन् । सही व्यक्ति सही समयमा सही ठाउँमा भएन भने देशको भविष्य अन्धकार हुन्छ । त्यसरी नै अनुशासन मानवजगत्को गहना हो, भाग्यमाथिको अन्धविश्वास अनुशासन होइन । अर्को महत्वपूर्ण अवसर भनेको वैदेशिक रोजगारीमा रहँदा सिकेको सीप नेपालको हावापानी अनुसार केही परिमार्जनसहित प्रयोगको अवसर पनि हो । अहिले केही युवाले रगत र पसिना नेपालमा नै बगाउनुपर्छ, सुन फल्छ भन्दै विभिन्न उद्यमशीलतामा लागेर सबैलाई हौसला प्रदान गरेका छन् । आजका विकसित मानिएका राष्ट्रहरू त्यसै विकसित भएका होइनन्, त्यहाँका कम्तीमा एक–दुई पुस्ताले अधिक श्रम गरेर सम्भव भएको हो । त्यो सोचको विकास गरेर हामीले विकासको नेतृत्व गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती छ । समय र अनुशासनको पालना गर्दै श्रमको सम्मान गर्न सक्छौँ कि सक्दैनौँ, बोली र व्यवहारमा एकरूपता ल्याउन सक्छौँ कि सक्दैनौँ, आफूले प्राप्त गरेका अधिकारलाई जिम्मेवारपूर्वक कर्तव्यमा ढाल्न सक्छौँ कि सक्दैनौँ, विदेशी भूमिमा भएर पनि नेपालमै जसरी हल्ला गर्ने, उद्दण्डता देखाउने, नियम–कानुन मिचेकामा गर्व गर्ने गर्छौं कि सभ्य नागरिक भएर बाँच्न सिक्छौँ । अहिलेको अहम् प्रश्न हो ।
नेपालमा अहिले पनि कुन क्षेत्रमा कति रोजगारीका नयाँ अवसर छन् । कृषिदेखि एआई आइटीसम्म कस्ता सम्भावना देखिन्छन् । अझै पनि सरकारले युवालाई कुन मार्गमा हिँडाउन खोजेको छ भन्ने स्पष्ट मार्गचित्र नीति, कार्यक्रम र बजेटको तादाम्यता छैन । नवीन ज्ञान, सीप र क्षमता भएका उद्यमलाई व्यवसाय गर्नका निम्ति युवालाई आशा, अवसर र आत्मविश्वास चाहिएको छ । पहिलो स्वदेशमा नै पौरख र पसिना बगाउने उत्प्रेरणा चाहिएको छ । जबसम्म आफ्नो माटो कोट्याउने नीति लिन सक्दैनौँ कुनै पनि अन्य वैकल्पिक उपायले हामी समुन्नतितर्फको यात्रा प्रारम्भ गर्न सक्दैनौँ । युवा उद्यम, साना मझौला व्यवसाय र नवप्रवर्तक ‘स्टार्टअप’लाई नीतिगत र व्यावहारिक रूपमा पनि अझै व्यवस्थित, उपलब्धिमूलक र आकर्षित बनाउन सामूहिक प्रयत्नको खाँचो देखिएको छ । नयाँ रोजगारी सिर्जना र उत्पादनमा आत्मनिर्भरता ल्याउने खालका उपयुक्त नीति र नतिजामा प्रस्ट देखिनुपर्ने चुनौती र अवसर राज्यसँग छ । श्रमको उत्पादकत्वमा उत्पादन तथा आयाम वृद्धि गर्न सकिन्छ भने कतिपय स्थितिमा श्रमलाई रोजगारी अनुकूल बनाएर काममा लगाउन सकिन्छ । हिजोआज उत्पादनमा श्रम, पुँजी र प्रविधिबीचको सन्तुलित प्रयोगले युवाका लागि व्यापक रोजगारी सिर्जना गरेको देखिएको छ । सर्वसुलभ गुणस्तरीय शिक्षा, स्वास्थ्य, तालिम आदिको विस्तारबाट राज्यले भविष्यमा श्रमको उत्पादकत्वमा अनुकूल प्रभाव पार्न सक्छ र रोजगारी सिर्जना गर्छ । व्यावसायिक शिक्षा तथा तालिममार्फत श्रमलाई उत्पादन कार्यसँग जोड्दा रोजगारीको अवसर सिर्जनामा सहयोग पुग्ने देखिन्छ । राज्य र निजी क्षेत्रले समाजमा रोजगारीका अवसर सिर्जना नगरेसम्म जनसाङ्ख्यिकी लाभले सार्थक रूप लिन सक्दैन । गरिबी र पछौटेपन हटाउन सक्षम युवाशक्तिलाई नीतिगत ढङ्गबाटै परिचालन गर्न आवश्यक छ । युवाशक्तिको बेवास्ताले ऊर्जाशील जीवन खेर गइरहेको छ । युवाशक्तिलाई आर्थिक क्षेत्रमा सक्रिय राख्न र आर्थिक उत्पादन सिर्जना गर्न राज्य गम्भीर हुनुपर्दछ । यसले युवामा उत्साह, कर्तव्य र जिम्मेवारी बढाउँछ । सेवाभाव सिर्जना गर्छ । संस्कार, संस्कृति, आदर सम्मानको बोध गराई सामाजिक परिपक्वता प्रदान गर्छ । अनि मात्र मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुन्छ ।
त्यसैले नवीन सोच, प्रविधि, लगानी स्टार्टअप रोजगारी सिर्जनाको आधार बन्न सक्छन् । सरकारले के कस्ता नीतिमार्फत नवप्रवर्तनको प्रोत्साहन गर्ने योजना बनाइरहेको छ भन्ने प्रश्न उठिरहेका छन् । युवा जनसङ्ख्याको अवस्था, क्षमता र लाभको उपभोग गर्न सक्दैनौँ भने आर्थिक समुन्नति सम्भव होला र ? नेपालमा बेरोजगार र अर्धबेरोजगारको सङ्ख्या बढी भएकाले जनसाङ्ख्यिकी लाभको उपयोग भएको देखिँदैन । यसको उपयोगलाई मापन गर्ने महत्वपूर्ण समष्टिगत परिसूचक कुल गार्हस्थ्य बचतमा पनि वृद्धि भएको पाइँदैन । आर्थिक रूपले सक्रिय हुन सक्ने उमेर समूहको अनुपात ६७ प्रतिशत बढेको देखिँदासमेत कुल गार्हस्थ्य बचत १० प्रतिशत वरिपरि घुमिराखेको देखिन्छ । यसले पनि युवा जनशक्तिलाई उत्पादनमा उपयोग गर्न राज्यले सकेको छैन भन्ने देखिएको छ । विकासका कर्णधार भनेको नै युवा वर्ग हुन् । ती वर्गको उत्पादनशीलता उपयोग नहुनु भनेको युवा बेरोजगार हुनु त हो नै, देशले विकासको सुनौलो अवसर गुमाउनु पनि हो । अन्त्यमा देशको आर्थिक, सामाजिक तथा शासकीय पद्धतिको रूपान्तरणमा युवा, उद्यम र नवप्रर्वतनको भूमिका ठूलो छ । यसर्थ, युवाका लागि रोजगारीमा जोड्ने शिक्षासँगै देश र समाजप्रति दायित्वबोध गराउने र श्रमप्रति सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी छ । यसले शिक्षा र रोजगारीको खोजीमा विदेश जाने युवालाई स्वदेशमै भविष्य खोज्ने बनाउन सकिनेछ । युवालाई स्वदेशमै अवसर दिनका लागि सरकारले मात्र होइन, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र समुदायको पनि सहकार्य आवश्यक छ । युवाका नयाँ विचार र प्राविधिक ज्ञानलाई देशको विकास, राजनीति र निर्णय प्रक्रियामा सहभागिताका लागि अब ढिला गरिनु हुँदैन । प्रतिफल उन्मुख उद्यम लगानीलाई नै आन्तरिक रोजगारी प्रवद्र्धनको मुख्य मार्ग मान्न सकिन्छ र अनि मात्र मुलुकको समृद्धि हुन्छ ।