गण्डकी, २० चैतः सुन्दा अनौठो लाग्न सक्छ, कास्कीको रुपातालको किनार (साविक रुपाकोट गाउँ पञ्चायत वडा नं ९) सिस्ठेनीमा लाग्ने मेला छ सय वर्षभन्दा पुरानो इतिहास, प्रकृति र संस्कृतिको साक्षी हो ।
प्रत्येक वर्षको चैते रामनवमीका अवसरमा पाँच दिनसम्म लाग्ने मेलालाई यस क्षेत्रको अति प्राचीन मेलाका रुपमा लिने गरिन्छ । अहिलेको जस्तो बढ्दो बजारीकरण र सरसामान किनमेलको सहजता नभएका अवस्थामा कास्की र आसपासका जिल्लाबाट सामान किनमेल गर्ने मेलाका रुपमा यसले चासो र चर्चा कमाएको स्थानीय समाजसेवी कुलप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सिस्ठेनी मेलाको इतिहास छ सय वर्षदेखि रहेको उल्लेख गर्दै उहाँले पछिल्ला समयमा यहाँस्थित रुपा युवा क्लबको सक्रियतामा यसलाई थप व्यवस्थित गर्दै लगिएको बताउनुुभयो । “विगतमा यो मेला सामान किनबेचका लागि मात्र नभई बिहेवारीका लागि पनि अभिभावक आएर केटाकेटी र परिवारका सम्बन्धमा बुझ्ने माध्यम पनि बनेको थियो”, उहाँले भन्नुुभयो, “मेलामा कास्की आसपासका ठाउँबाट भद्रभलादमी समेत घोडा लिएर अवलोकन गर्न आउने र मेला अवधिभर यहाँ बसेर विभिन्न भेटघाट पनि गर्ने गर्दथे ।”
मेलाका सल्लाहकार उपसमितिका संयोजक समेत रहनुभएका अधिकारीका अनुुसार पछिल्लो समयमा स्थानीय रुपा युवा क्लबको सक्रियतामा सिस्ठेनी मेलालाई निरन्तरता दिन थालिएको छ । यस वर्ष पनि यही चैत २२ गतेदेखि वैशाख २ गतेसम्म ७ औँ रुपा सिस्ठेनी मेला आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि ४५÷४६ सालतिर मेलामा बर्सेनिझैँ झगडा हुन थालेपछि केही वर्ष रोकिएको मेलालाई क्लबको सक्रियतामा पुनः इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ व्यवस्थित गर्दै लगेको उहाँले जानकारी दिनुुभयो । मेलामा स्थानीय उत्पादनको खरिद बिक्रीसँगै इतिहासको निरन्तरता स्वरुप अहिले पनि दैनिक रुपमा आवश्यक पर्ने कृषिजन्य उत्पादन, फलफूल, जडीबुटी, वनपैदावार एवं घरेलु सामग्रीको बिक्री वितरण हुने गरेको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्का बताउनुुहुुन्छ ।
मेलामा परम्परागत रुपमा उपयोग हुँदै आएका कुटो, कोदालो, हलो, बञ्चरो, हँसिया, चुलेसी, करौती, भकारी, माटाको भाँडा, चोयाबाट बनेको नाङ्ग्लो, जाँतो, गुन्द्री, डोको–डाला, नाम्लो, दाम्लो, कम्मल राडीपाखी, लत्ताकपडा, ठेकी, मदानीलगायत घरेलु मसला आदि किनबेच गर्ने गरिएको छ ।
त्यस्तै हाम्रा गाउँघरमा दैनिक प्रयोग हुने कोदो, जौ, फापर, मकै, गुर्दी, जर्नेली, कागुनोजस्ता खाद्य तथा नगदेबालीहरूको साथमा बैद्यको आयुर्वेदिक औषधिको समेत तत्कालीन अवस्थामा बजारीकरणको सहजता नहुँदा किनबेच गर्ने थलोका रुपमा मेला स्थापित बनेको उहाँको भनाइ छ ।
उहाँका अनुसार तत्कालीन समयमा घरायासी सामानको बेचबिखनका लागि काठमाडाँै, ललितपुर, भक्तपुरका साथै छिमेकी लमजुङ, गोरखा, स्याङ्जा, पर्वत, चितवन आदि स्थानबाट सामान बेच्नका लागि मानिसहरू आउने गर्दथे ।
विसं २०३४÷२०३५ तिर यहाँ लाग्ने मेलाका लागि स्याउलाले छाएका व्यापारिक कक्ष एक मोहोर रुपैयाँमा बिक्री गरेको कुलप्रसाद अधिकारीको अनुभव छ । तत्कालीन समयमा यहाँ हुने छेलो, रस्साकस्सी प्रतियोगितासँगै रोधी, ठाडोभाका, कौडा नृत्य, लाखेनाच आदिमा सहभागिताका लागि पनि टाढाटाढाबाट मानिसहरू आउने गरेको बूढापाका बताउँछन् ।
छ शताब्दी पुरानो इतिहासको जगेर्नासँगै स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन एवं संस्कृतिलाई जीवन्त राख्नका लागि सिस्ठेनी मेलालाई निरन्तरता दिने कुरामा आफूहरू लागेको क्लबका निवर्तमान अध्यक्ष एवं मेलाका निर्देशक धीरजकुमार श्रेष्ठ बताउनुहुन्छ ।
“महोत्सवको माध्यमबाट आफ्नो स्थानीय पहिचान बनाउँदै मेलाका माध्यमबाट यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान एवं स्थानीय तथा ग्रामीण उत्पादन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, विभिन्न जातजातिको कला, धर्म र संस्कृतिको जगेर्ना गर्नुु नै हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो ।
यस वर्षको मेलामा करिब १२० भन्दा बढी व्यापारिक कक्षहरू रहने प्रायोजक उपसमिति संयोजक वसन्त जोशीले जानकारी दिनुुभयो । उहाँका अनुसार मेलाको मुख्य प्रायोजकमा साहारा इन्टरनेशनल फर्टिलिटि सेन्टर पोखरा रहेको छ भने सहप्रायोजकमा रुपा–६ जन्मस्थान भई हाल अमेरिकामा रहनुुभएका प्रकाश तिवारी रहनुुभएको छ ।
मेलाका अवसरमा राष्ट्रिय लोकदोहोरी कार्यक्रम, रत्यौली र भलिवल प्रतियोगिता, कृषि, जैविक विविधता, रुपातालको माछा प्रदर्शनी, हाँस्य ब्यङ्ग्य, फुड फेष्टिबल, विभिन्न जातजातिको मौलिक सांस्कृतिक कार्यक्रम आदि रहने क्लबका सचिव अनिल पगेनीले जानकारी दिनुुभयो । मेलामा एक लाखभन्दा बढी दर्शक सहभागी बन्ने अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।
मेलासँगै यहाँस्थित रुपाताल, तालबराह, कोट भैरव, चिसापानी मन्दिरको प्रचारप्रसार एवं महोत्सवबाट बचेको रकमबाट राम मन्दिर निर्माण गर्ने लक्ष्य पनि राखिएको छ । नजिकैका चिसापानी, शिरमा रहेको कोट भैरव मन्दिर, तालको किनारामा रहेका सिमल काँडेदेखि कमलका फूल आदि यहाँका मौलिकता हुन् ।
यहाँस्थित तालबराहसँगै शिरमा रहेको कोट भैरवलाई यहाँका स्थानीयले अत्यन्त श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्ने गर्दछन् । श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुग्ने युगौँदेखिको विश्वासका कारण तालबराह र कोट भैरव मन्दिर यस क्षेत्रकै महत्वपूर्ण तीर्थस्थल बनेका छन् । कोटभैरवसहित यहाँका धार्मिक एवं प्राकृतिक मौलिकता र महत्वलाई लाई चर्चा गर्दै प्राचीनकालदेखि यहाँका स्थानीयले गाउने,
‘कतै मन्दिर चिसापानी, कतै भैरव कोट ।
तालैमुनि सिमल काँडे, कमल फूलको बोट ।।’ जस्ता गीतले यहाँको महत्वलाई अझै चुल्याएकोे छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













