10/16/2025, 13:32:03
बिहिबार, असोज ३०, २०८२
आरोहीहरुको गाउँ - लाप्राक

एकै सिजनमा लाप्राकका १० जनाले गरे मनास्लु आरोहण


गोरखा, २९ असोज — ‘आरोहीहरुको गाउँ‘का रूपमा परिचित धार्चे गाउँपालिका–४ लाप्राकका १० जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

सन्दीप गुरुङ, बुधबहादुर गुरुङ, सुजल गुरुङ, आशबहादुर गुरुङ, डम्बर गुरुङ, पूर्णबहादुर गुरुङ, इमान गुरुङ, रामबहादुर गुरुङ, सुजन गुरुङ र तिरज गुरुङले मनास्लु आरोहण गरेका हुन् । ‘यो वर्षको एकै सिजनमा एउटै गाउँका १० युवाले मनास्लुको सफल आरोहण गर्नुभयो,’ लाप्राकका स्थानीय रोजन गुरुङले भने, ‘यहाँका स्थानीयको प्रमुख पेसा नै पर्यटन हो, ८ हजारमाथि उचाइका हिमाल आरोहण गर्ने युवा बर्सेनि बढ्दै गएका छन्, यो गाउँका लागि मात्र नभई जिल्लाकै गौरवको कुरो हो ।

हिमाल आरोहण गर्नेको संख्या बढेपछि युवालाई ट्रेकिङ क्षेत्रमा लाग्न अझै उत्साह थपिएको उनले बताए । लाप्राक गाउँका करिब ६० प्रतिशत स्थानीय बासिन्दा पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आबद्ध छन् । सगरमाथा आरोही, माउन्टेन गाइड, ट्रेकिङ (पदयात्रा) गाइड, असिस्टेन्ट गाइडदेखि सहयोगीसम्मको काममा यहाँका स्थानीय आबद्ध छन् । लाप्राक घर भएका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक ४ जना छन् । उनीहरुले पर्वतारोहण पथप्रदर्शको प्रशिक्षण पनि गराउँछन् ।

मनास्लु हिमाल आरोहणका लागि शरद ऋतुलाई उपयुक्त समय मानिन्छ । किलर माउन्टेनका रुपमा परिचित ८,१६३ मिटर उचाइको मनास्लु पछिल्लो समय आरोहीको रोजाइमा पर्ने गरेको छ । पर्यटन विभागका अनुसार यो सिजनमा मात्र ३ सय ७४ जनाले मनास्लु आरोहण अनुमति लिएका थिए । यो वर्ष ३१ समूहका २७९ पुरुष र ९५ महिलाले मनास्लु आरोहणको अनुमति लिएका हुन । मौसम अनुकूल बनेपछि अनुमति लिएकाहरुले असोज ६ बाट आरोहण थालेका थिए । अहिले हिमाल आरोहण गरेर अधिकांश आरोही फर्किसकेका छन् । मनास्लु आरोहण अनुमति लिएकाबाट १५ करोड ७६ लाख ४० हजार एक सय १५ रुपैयाँ राजस्व संकलन भएको छ ।

हिमाल आरोहणसँगै पदमार्ग भएर मनास्लु क्षेत्र घुम्न जाने पर्यटक पनि बढेका छन् । भदौदेखि कात्तिकसम्म मनास्लु भ्रमणको उपयुक्त सिजन मानिन्छ । अहिले विदेशी पर्यटकसँगै पदयात्रामा रुचि भएका नेपाली पनि मनास्लु क्षेत्रमा खचाखच छन् ।

चालु आर्थिक वर्षको साउनमा ७६ र भदौमा ७७९ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ । मनास्लु क्षेत्रमा पुग्ने पर्यटकले चुम र नुव्री उपत्यका घुम्नुका साथै लार्के पास गर्ने गरेका छन् ।