मुक्तिनाथ (मुस्ताङ), कात्तिक २ : जेन-जी आन्दोलन तथा बाढी-पहिरो जस्ता विपत्तिले पर्यटकीय चहलपहल घट्ने अनुमानविपरीत मुस्ताङमा पर्यटकको भिड बढ्न थालेको छ । धार्मिक तथा प्राकृतिक सुन्दरताका कारण मुलुककै महत्वपूर्ण गन्तव्यमा पर्ने मुस्ताङमा यस वर्षको पहिलो छ महिनामा तीन लाखभन्दा बढीले भ्रमण गरेका छन् ।
बेनी–जोमसोम–कोरला सडक, पोखरा–जोमसोम हवाईमार्ग तथा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङ्ला पास हुँदै मुस्ताङमा वैशाखदेखि असोजसम्म तीन लाख ३४ हजार ७२६ जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कुल पर्यटकमध्ये एक लाख ८४ हजार स्वदेशी र बाँकी एक लाख ५० हजार ३८८ जना विदेशी पर्यटक रहेका छन् ।
यो अवधिमा असोजमा सबैभन्दा धेरै स्वदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् भने सार्क राष्ट्रबाट जेठ र तेस्रो मुलुकबाट वैशाखमा मुस्ताङ भ्रमण गरेको कार्यालयले जनाएको छ । असोजमा ६२ हजार ५३३ जना स्वदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । जसमध्ये ३४ हजार ५६४ पुरुष र २७ हजार ९६९ महिला पर्यटक रहेका छन् । सार्क राष्ट्रतर्फ तीन हजार ७१२ पुरुष, दुई हजार ९७५ महिला गरी कुल छ हजार ६८७ जनाले असोजमा मुस्ताङ भ्रमण गरेको कार्यालयको तथ्याङ्क छ । तेस्रो मुलुकबाट ६०८ पुरुष, ४४० महिला गरी दुई हजार ४२ जनाले भ्रमण गरेका थिए ।
गत वर्षको तुलनामा भने यस वर्ष मुस्ताङ भ्रमणमा आउनेको सङ्ख्या सामान्य घटेको छ । कार्यालयका अनुसार गत वर्षको छ महिनामा एक लाख ३० हजार ४४८ विदेशी र दुई लाख २६ हजार ७९० स्वदेशी गरी तीन लाख ५७ हजार २ सय २३८ पर्यटकले मुस्ताङ भ्रमण गरेको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।
जेन-जी आन्दोलनका कारण पर्यटकको सङ्ख्या केही प्रभावित हुन पुगेको स्थानीय व्यवसायीको भनाइ छ । पर्यटकका लागि आकर्षक सिजन अक्टोबरमा नेपाल आउने तयारी गरेका विदेशी पर्यटकले जेन-जी आन्दोलनका कारण असुरक्षा महसुस गरी भ्रमण रद्द गरेको उनीहरूको अनुमान छ ।
मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचन आन्दोलनका कारण भारतीय र तेस्रो मुलुकका पर्यटक प्रभावित भएको तथा सोह्रश्राद्धका लागि कागबेनी आउने हिन्दु धर्मावलम्बीलाई पनि आन्दोलन र सडक अवरुद्धले प्रभावित बनाएको बताउनुहुन्छ । “अहिले फेरि पर्यटकको सङ्ख्या बढ्दा उत्साहित छौँ,” उहाँले भन्नुभयो ।
पर्यटकले सुरक्षाकै कारण भ्रमण रद्द गरेको अवस्थामा आन्तरिक पर्यटकबाट मुस्ताङका व्यवसायीलाई राहत मिलेको छ । मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकको सीमाक्षेत्र घाँसा, अर्धनिषेधित क्षेत्रका रूपमा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङको प्रवेशद्वारमा रहेको चेकपोस्टमा विवरण सङ्कलन गरिन्छ । फर्किने क्रममा लेते प्रहरी चौकीले तथ्याङ्क राख्ने गरेको छ ।
मुस्ताङ भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटक थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाका भित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलमा जाने गरेका छन् । मुस्ताङ भित्रिने अधिकांश पर्यटक प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गरेका छन् ।
मुस्ताङ हुँदै छिमेकी जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–९ स्थित विश्वकै अग्लो स्थान (४,९१९ मि.) मा रहेको तिलिचो तालमा पनि पर्यटक जाने गर्छन् । तिलिचो ताल जान मुस्ताङको बाटो सहज मानिन्छ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुईपाङ्ग्रे सवारीसाधनमा जाने पर्यटकको सङ्ख्या बढिरहेको पनि कार्यालयले जनाएको छ ।
– हरिकृष्ण शर्मा